अनुगमनले कर्मचारीको काम गर्ने शैली फेरिँदै
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महानगरको कार्यालयबाट प्रदान गरिने सेवाको प्रभावकारिताका बारेमा कार्यालयभित्रै छड्के अनुगमन गर्ने कार्यलाई तीव्रता दिएसँगै कर्मचारीको काम गर्ने शैली फेरिएको छ ।

महानगरवासीलाई परिवर्तनको अनुभूति गराउन विगतमा सुस्त गति, सेवाग्राहीको काममा आनाकानी र हैरान गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न मेयर सिंह कार्यालयमै छड्के अनुगमन गर्न थालेपछि कर्मचारीहरूमा काम गर्ने शैलीमा समेत परिवर्तन आएको छ ।
प्रत्येक हप्तामा एक पटक नगर प्रमुख सिंह आफै अचानक महानगरपालिकाका महाशाखा, शाखा र फाँटमा पुगेर कार्यालय समयमा नआउने, आएर पनि मोबाइलमा व्यस्त देखिएका र विभिन्न बहाना बनाइ सेवाग्राहीलाई अल्झाएका कर्मचारीसँग तत्काल जवाफ लिई आइन्दा यस्तो नगर्न चेतावनी दिन थालेपछि कर्मचारीको काम गर्ने शैलीमा परिवर्तन आएको नगरवासीले अनुभूति गरेका छन् ।
जनताले काम गर्न नेतृत्वमा आफूलाई चुनेको भन्दै नगर प्रमुख सिंहले आफ्नो कार्यकालमा वीरगन्जवासीले महानगरमा परिवर्तनको अभाष नगरेसम्म कुनै कर्मचारीलाई आनाकानी गर्न छुट नदिइने चेतावनी दिनुभयो । सो अवसरमा नगर प्रमुख सिंहले काम गराउन आएका सेवाग्राहीहरूसँग पनि महानगरपालिकाले प्रदान गरेको सेवा र कर्मचारीका बारेमा जानकारी लिनुभयो ।
मेयर सिंहको छड्के अनुगमनले महानगरपालिकामा हुने गरेको लापरवाही, सेवाग्राहीलाई घुमाउने कर्मचारीको बानीमा सुधार आएको घर जग्गाको राजस्व तिर्न महानगरपालिका पुगेका वीरगञ्ज महानगरपालिका १६ निवासी शम्भु थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्