मतदानको मिति नजिकिएसँगै पर्सामा सुरक्षा व्यवस्था कडा
वीरगञ्ज । मतदानको मिति नजिकिएसँगै पर्सामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

निर्वाचन नजिकिँदै गर्दा सिमानामा खटिएका सुरक्षाकर्मीहरूबाट ओहोरदोहोर गर्नेहरूलाई कडाइका साथ चेकजाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आजबाट सिमाक्षेत्रमा तालिम प्राप्त कुकुरको प्रयोग गरि निगरानी बढाएको छ ।
निर्वाचन नजिकिँदै गर्दा पर्सा जिल्ला नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएका छन् । निर्वाचनको बेला सिमानाकामा बढ्न सक्ने आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।

अवैध हातहतियार वा विष्फोटक पर्दाथ भित्रिन सक्ने भन्दै वीरगञ्ज–रक्सौल सिमाक्षेत्रमा सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरको परिचालन गर्दै मानिसको शरीर समेत खानतलासी गरेको छ । वीरगञ्ज नाकाबाट दैनिक ३ देखि ४ हजारको हाराहारीमा सवारी साधन आवतजावत गर्दछन् ।
५ देखि १० हजारको सङ्ख्यामा मानिसहरू दैनिक ओहोरदोहोर गर्ने गरेका छन् । खुला सीमा नाकाका कारण निर्वाचनको समयमा कुनै किसिमको आपराधिक गतिविधि नहोस् भन्ने उद्देश्यले बेलैमा कडा निगरानी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जसहित पर्साका भारतसँग सीमा जोडिएका झण्डै १८ वटा नाकामा प्रहरी परिचालन गरी कडा निगरानी शुरु गरेको छ । निर्वाचनको बेलामा मतदाताहरूलाई डर धम्की दिने र निर्वाचन बिथोल्ने समूह सक्रिय हुनसक्ने भन्दै सिमाक्षेत्रमा सुरक्षाकर्मीहरूसहित तालिम प्राप्त कुकुर परिचालन गरिएको बस्नेतले बताउनुभयो ।
यसैबिच निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना लागु गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।
उहाँले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न भारतीय समकक्षीहरूसँग समन्वय गरी सिमाक्षेत्रको दुवैतर्फ आकस्मिक चेकजाँच, गस्तीको साथै जिल्लाभरि तालिम प्राप्त कुकर परिचालन गरिएको बताउनुभयो ।
पर्सामा आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अवधिभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी कुल ४ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्