तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अपिल

भद्रपुर, झापा । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा १८ वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न/नगराउन जिल्ला बाल सञ्जाल झापाले अपिल गरेको छ ।

निर्वाचनका क्रममा कुनै पनि राजनीतिक कार्यक्रममा बालबालिका तथा विद्यार्थीको दलगत प्रयोग नगर्न÷नगराउन जिल्ला बाल सञ्जालले आज  लिखित अपिलमार्फत आग्रह गरेको हो ।

मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न राजनीतिक दलको चुनावी कार्यक्रम तथा भेलाहरूमा १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा विद्यार्थीलाई सङ्गठित गर्ने, जुलुस तथा सभामा प्रयोग गर्ने गरेको देखिँदै आएको जनाउँदै उक्त कार्य तत्काल रोक्न सञ्जालले राजनीतिक दल तथा सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

आज बालबालिका तथा शिक्षा सञ्चार मञ्चको सहकार्यमा संवाद समूह झापाले ‘निर्वाचनमा बालबालिकाको प्रयोग न्यूनीकरणका लागि अपिल’ विषयक संवाद कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा सहभागी जिल्लास्थित विभिन्न पालिकाका बाल सञ्जालका प्रमुख तथा प्रतिनिधिले चुनाव प्रचार–प्रसारका ध्वनि यन्त्रहरू समेत विद्यालय हाता वरिपरि बजाइएको भन्दै आपत्ति जनाएका थिए ।

चुनावी प्रचारका सामग्रीबाट विद्यार्थीको पठनपाठन र शैक्षिक वातावरणमा प्रत्यक्ष असर परेको उनीहरूको ठहर छ । सञ्जालले निर्वाचनमा बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न र नगराउन तथा विद्यालय वरिपरि पढाइमा बाधा पुग्ने गरी चर्को ध्वनिका साथ चुनावी प्रचार प्रसार नगर्न नगराउन पनि राजनीतिक दल तथा संघ सङ्गठनहरूमा अपिल गरेको छ ।

बालबालिका ऐन २०७५ को दफा ६६ को उपदफा २ मा कुनै पनि राजनीतिक दलहरूले राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने वा बन्द हड्ताल, चक्काजाम गर्ने र जुलुस तथा सभाजस्ता कार्यमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएकोले उक्त ऐनको व्यवस्था कार्यान्वयनको लागि राजनीतिक दल तथा सरोकारवालाको सञ्जालले ध्यानाकर्षण गराएको छ ।

बालबालिका ऐनमा उल्लेख गरे विपरीत कुनै पनि राजनीतिक दल सङ्गठन वा व्यक्ति यस्ता कार्यमा बालबालिकाको प्रयोग गरे त्यसलाई कसुरको रुपमा मानी दफा ७२ मा ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ बर्ष कैदको व्यवस्था गरेको समेत स्मरण गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button