तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवार गाउँमा : युवा राहदानी बनाउन लाइनमा

सल्यान । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न यतिबेला उम्मेदवारदेखि नेता कार्यकर्ता घरदैलो अभियानमा व्यस्त छन् । 

चुनावी सभालाई व्यवस्था गर्दै उम्मेदवारहरू जनतामाझ भेटघाटमै व्यस्त हुन थालेका छन्  । भोट माग्न उम्मेदवार गाउँमा पस्दा युवाहरू भने वैदेशिक रोजगारीमा जानका लागि जिल्ला प्रशासन कार्यालय सल्यानमा राहदानी बनाउन लाइनमा बसिरहेका छन् । 

जिल्लाको विकास र समृद्धिका लागि युवाको महत्त्वपूर्ण भूमिका हुन्छ । निर्वाचनको सङ्घारमा जिल्लाको नेतृत्व सम्हाल्न अगाडि आउनुपर्ने युवा भने खाडी राष्ट्रमा पसिना बगाउन जानको लागि जिल्ला प्रशासन कार्यालयको परिसरमा राहदानी बनाउने लाइनमा छन् । 

“जिल्लाको लागि यो सबैभन्दा ठूलो दुर्भाग्य हो”, स्थानीय नरेन्द्र वली भन्नुभयो  । उहाँले युवा पलायन रोक्न तीनै तहको सरकारले प्रभावकारी योजना बनाउन नसकेको बताउनुभयो । 

निर्वाचनको समयमा युवाहरूलाई रोजगारीको आश्वासन दिने गरेको भएपनि युवा पलायनलाई रोक्ने प्रभावकारी उपाय नेता र उम्मेदवारले अघि सार्न नसकेको युवाहरूको भनाइ छ । 

“राजनीतिक दल र उम्मेदवारका घोषणापत्रमा समेत युवा पलायनलाई रोक्ने स्पष्ट योजना छैन, जबसम्म राज्य ठोस र प्रभावकारी योजनासहित अगाडि आउँदैन, तबसम्म हाम्रा गाउँघर युवाविहीन रहने निश्चित छ”, राहदानी बनाउन आउनुभएका त्रिवेणीका देवराज थापाले भन्नुभयो । 

उहाँका अनुसार युवावर्ग समय र समाज सँगसँगै अगाडि बढेका हुन्छन् । उनीहरूमा विकास र परिवर्तनको चाहना पनि बढी हुन्छ । “देश विकासका लागि त युवा नै राजनीतिमा आउनुपर्छ तर हाम्रो विडम्बना, देश चलाउने नेता छान्नसमेत युवा गाउँघरमा छैनन्”, उहाँले भन्नभयो “निर्वाचनको मुखमा राहदानी बनाउन आउनु यो हाम्रो रहर होइन, बाध्यता हो ।”

“देश बनाउनुपर्ने युवा खाडीमा छन्, जोस जाँगर सकिएका प्रौढहरू देश चलाउने नारा बोकेर मत माग्न घर–घर चहार्दै छन्, गाउँघरमै भएका केही युवा पनि बिरक्तिएर बसेका छन्, यही हो, हाम्रो गाउँको यथार्थ’ कपुरकोटका रोशन घर्ती भन्नुहुन्छ ‘यो निर्वाचनमा मत खसाल्न त बूढापाका र महिला मात्र गाउँघरमा छन् ।”, “तपाईँहरू पालैपालो देश हाँक्नुहुन्छ तर, यहाँका युवाले किन रोजगारी पाउन सकेनन् ? जिल्लामा किन एउटा पनि उद्योग स्थापना हुन सकेन ? गाउँघरमा बाँकी रहेका युवाले तपाइहरूलाई भोट किन दिने ?” उहाँ प्रश्न गर्नुहुन्छ । 

अर्का युवा झक्कु बस्नेतले राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा स्वदेशमै रोजगारीदेखि युवाहरूलाई लक्षित गर्दै कार्यक्रम समावेश गरे पनि ती कार्यक्रम र प्रतिबद्धताले भने विदेश जाने युवाहरूलाई समेट्न नसकेको बताउनुभयो । 

“यहीँ केही गरौँ भनेको त हो नि, तर केही भएन, हातमा सर्टिफिकेट बोकेर धेरै ठाउँ धाएँ, नेताहरूको पछि पनि लाएँ, उपलब्धि केही भएन”, उहाँले भन्नुभयो “आखिर विदेश नै रहेछ हामी जानुपर्ने, यहाँ पसिना बगाउने वातावरण भएन, विदेश जानुको अर्को विकल्प जिल्लामा भेटिएन ।”

जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार गएको आर्थिक बर्ष २०७८÷०७९ मा  जिल्लाबाट २ हजार १ सय ६७ जनाले राहदानी बनाएका छन् । 

यस्तै सोही आर्थिक वर्षको फागुनसम्म द्रुत सेवाका लागि १ हजार ९ सय ६५ जनाले सिफारिस लिएका छन् । चालु आर्थिक वर्षको हालसम्ममा विद्युतीय राहदानीका लागि फारम बुझाएका २ हजार ३ सय २० जना मध्ये हालसम्म १ हजार ६ सय ९७ जनाले विद्युतीय राहदानी लिएका छन् । 

यस्तै, पहिले लिन छुटेका ४५ जनाले राहदानी लिएका छन् । यसबाहेक गाँस, बास र कपासको जोहो गर्न छिमेकी राष्ट्र भारतका विभिन्न सहरमा भौँतारिरहेका युवाको सङ्ख्यासमेत जोड्दा तथ्याङ्क अझ गम्भीर बन्न सक्छ । 

विगतका तुलनामा पछिल्लो समय विदेश जानको लागि राहदानी बनाउन आउनेको सङ्ख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले दैनिक करिब ५० जना युवायुवती राहदानी बनाउनको लागि आउने गरेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button