अब विकास र समृद्धिको नेतृत्व गोरखाले गर्छ : प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व गरेको र अब विकास र समृद्धिको पनि नेतृत्व गोरखाले नै गर्ने बताउनु भएको छ ।
त्यस्तै अध्यक्ष प्रचण्डले मङ्सिर ४ को चुनाव जनमत सङ्ग्रह जस्तै भएको बताउनु भयो । आज गोरखा जिल्लाको सिरान्चोक गाउँपालिका वडा नम्बर ३ स्थित हर्मी भञ्ज्याङमा आयोजित कार्यक्रम सो कुरा बताउनुभएको हो ।
आफू गोरखामा उम्मेदवार बनेर आउन पाउँदा खुसी बताउँदै गोरखाका जनताले हृदयदेखि नै आफूलाई दिल खोलेर स्वागत गरेको उहाँको भनाइ छ । मङ्सिर ४ को निर्वाचन संविधान रक्षा गर्ने र संविधान नमान्नेहरूबीचको जनमत सङ्ग्रह जस्तै भएको प्रचण्डले बताउनुभयो ।
गोरखा–२ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर भएको बताउनुभयो ।
गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरु गरेको यो व्यवस्थालाई पनि र शान्तिलाई पनि अन्तिम अन्तिम टुङ्गो लगाउने अवसर यो हो,’ प्रचण्डले भन्नुभयो, ’सबै पीडितहरूलाई परिपूरण भनेको–आर्थिक सहयोग दिने, परिवारको भरणपोषण, रोजगारी, शिक्षा दीक्षा दिने उनीहरूका नाममा विभिन्न स्थानमा स्तम्भहरू राज्यले नै बनाइदिने पार्कहरू राज्यले नै बनाउने भन्ने नीति पास भइसकेको छ । तपाईँहरूको पूरा सहयोग भयो भने यो कुरा फत्ते गर्न पनि ठूलो शक्ति प्राप्त हुन्छ ।’
द्वन्द्वपीडितहरूलाई भेदभाव नगरी समान व्यवहार गरिने उहाँको भनाइ छ । नेपाली काङ्ग्रेससँग आफूहरूको राम्रो समझदारी बनिरहेको उनले बताउनुभयो ।
राजनीतिक स्थायित्व र संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्न पनि आग्रह र समृद्धिको नयाँ यात्रा सुरु गर्नको निम्ति तपाईँहरूले दिल खोलेर जसरी स्वागत गर्नुभयो, दिल खोलेर मतदान पनि गर्नुहोला,’ प्रचण्डले भन्नुभयो, ’जितिहालिन्छ भनेर कसैले अल्छी नगर्नुहोला । गर्न नदिनुहोला ।’







प्रतिक्रिया राख्नुहोस्