तपाईँ सुन्दै हुनुहुन्छः

साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

बझाङ । बझाङको साइपाल गाउँपालिकाबाट मत पेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ । 

जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो । 

“सडक सञ्जालले साइपाल जोडिएको छैन ।” उहाँले भन्नुभयो, “त्यहाँबाट बोकाएर ल्याउन कम्तीमा तीन दिन लाग्छ, मत गणना पनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने व्यवस्था गरिदिन भनेका छौँ ।” 

गृह मन्त्रालय, निर्वाचन आयोगसँग मतपेटिका सङ्कलनका लागि हेलिकप्टर माग गरिएको र निर्णय आउन भने बाँकी रहेको उहाँले बताउनुभयो । 

साइपालका ५ वटा मतदान केन्द्रको प्रत्येकमा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक गरी चार वटा मतपेटिका हुन्छ । हरेक केन्द्रमा एउटा मतपेटिका थप पठाइएको हुन्छ । कर्मचारीहरू केन्द्रमा खटिएकाले मत गणना सुरु गर्ने जनशक्ति पनि अभाव हुने हुँदा मतपेटिकासहित कर्मचारीलाई छिटो सदरमुकाम आउने व्यवस्थाका लागि हेलिकप्टर माग गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई छ । 

१ सय ८४ मतदान केन्द्र रहेको बझाङमा साइपाल गाउँपालिका वडा नम्बर ५ मा रहेको यारुङकुरुङ डाडा सबैभन्दा टाढाको दुरीमा रहेको मतदान केन्द्र हो । मतपेटिका, मतदान सामग्री भने दुर्गममा बोकाएर लैजाने तयारी गरिएको छ ।

बझाङमा मतपत्र सहित सबै निर्वाचन सामग्री आइपुग्यो
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बझाङमा सबै सामग्री आइपुगेको छ । 

६२ प्रकारको मतदान सामग्री जिल्ला आइसकेको निर्वाचन कार्यालयका सूचना अधिकारी भक्त दमाईले बताउनुभयो । 

३० प्रकारका अनुसूची, सात प्रकारका पर्चा, पम्पलेट आएको छ । शुक्रबारदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु हुने र तालिम २६ गतेसम्म चल्ने उहाँले जानकारी दिनुभयो । 

कात्तिक १८ गतेदेखि महिला स्वास्थ्य स्वयंसेविकाहरूले र एसएलसी पास नभएका स्वास्थ्य स्वयंसेविकाको हकमा वडा स्तरीय मतदाता शिक्षा सञ्चालन समितिको सदस्य खटाएको छ । 

वडाभित्र पनि टोल टोलमा मतदाता शिक्षा दिइरहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button