वीरगंजमा नमूना मतदान सम्पन्न
वीरगंज । मङ्सिर ४ मा हुने निर्वाचनलाई लक्षित गर्दै आज वीरगंजमा नमूना मतदान सम्पन्न गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्साको आयोजनामा सहकारी डिभिजन कार्यालय वीरगंज परिसरमा नमूना मतदान कार्यक्रम सम्पन्न भएको हो ।
नमुना मतदान कार्यक्रममा सहभागी मतदाताले प्रदेश र प्रतिनिधिसभाको जस्तै प्रत्यक्ष र समानुपातिक गरि ४ पटक मतदान गरेका थिए । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा दिने र मत बदर हुने अवस्थाको बारेमा बुझ्न नमुना मतदान गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भिमकान्त पौडेलले बताउनु भयो ।
नमूना मतदान कार्यक्रममा पर्सा जिल्लाका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेल, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला निर्वाचन कार्यालयकी प्रमुख रञ्जना झा लगायत सर्वसाधारण मतदाताले समेत मतदान गरेका थिए ।
नमुना मतदान गर्ने क्रममा सहभागी मतदाताहरूलाई मतपत्रमा स्वस्तिक छाप लगाउने, मतपत्र पट्याउने, चार वटा मतपत्र मध्ये कुनमा पहिले , कुनमा दोस्रो , कुनमा तेस्रो र अन्त्यमा कुन मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने बारेमा सिकाइएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भयो ।
सुरक्षा व्यवस्था सहित वास्तविक निर्वाचनको झल्को दिने गरी सम्पन्न नमुना मतदानको नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायत पर्साका सबै सुरक्षा निकायका प्रमुख सहितको टोलीले अनुगमन पनि गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्