पाल्पामा धान उत्पादन घट्ने

पाल्पा । पाल्पामा यो वर्ष धान उत्पादन घट्ने सङ्केत देखिएको छ । समयमै पानी नपरेको र धान स्याहार्ने बेलामा विभिन्न रोग देखिएकाले यो वर्ष जिल्लामा पाँच देखि दश प्रतिशत धान उत्पादन घट्ने अनुमान गरिएको हो ।
कृषि ज्ञान केन्द्र पाल्पाले गत वर्षको तुलनामा यो वर्ष पाँचदेखि दश प्रतिशत धान उत्पादन घट्ने जनाएको छ । समयमै पानी नपरेका कारण यो वर्ष सबै भूभागमा धान खेती हुन नसकेको कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले बताउनुभयो । यो वर्ष धानका लागि आवश्यक परेको बेलामा पानी परेन अधिकारीले भन्नुभयो त्यसले पनि धान उत्पादन कम हुने प्रारम्भिक अनुमान गरिएको छ ।
गत वर्ष पाल्पामा ३१ हजार मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । यो वर्ष २८ देखि २९ हजार मेट्रिकटन धान उत्पादन हुने प्रारम्भिक प्रक्षेपण गरिएको केन्द्रले जनाएको छ । यो वर्ष धान पाकेपछि पोके, फड्के जस्ता रोगका कारण धान उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र कृषि प्राविधिक मिलन गैरेले बताउनुभयो । ‘धान पाक्ने बेलामा पाल्पाको रामपुर, गेझा, माडीलगायतका फाँटमा फड्के र कालोपोके रोग देखियो उहाँले भन्नुभयो ।’
पाल्पाको अन्न भण्डारको रुपमा रहेको रामपुर, माडी, अर्गली, गेझा, झडेवा, कचल फाँटमा धान खेती हुँदै आएको छ । पाल्पामा यो वर्ष आठ हजार हेक्टरमा मात्र धान खेती भएको बताइएको छ । पछिल्लो समय परम्परागत जातका धानको खेती छाडेर उन्नत र हाइब्रिड जातको धान खेती हुँदै आएको छ । उन्नत र हाइब्रिड जातको धान खेती गर्ने क्रम बढेपनि पछिल्ला तीन वर्षयता लगातार धानको उत्पादन घट्दै गएको किसानको भनाई छ । समयमै पानी, मल नपाउने समस्या र धानमा देखिने रोगका कारण उत्पादन घट्दै गएको उनीहरू बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्