‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक मिडिया अभिमुखीकरण
सुनसरी । सुनसरीको इनरुवामा जिल्ला निर्वाचन कार्यालयले ‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार जिल्ला निर्वाचन कार्यालय सुनसरीको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरूको भूमिकाका विषयमा छलफल र निर्वाचनका बारेमा अभिमुखीकरण गरिएको पौडेलले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको मिडिया अभिमुखीकरणमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा सञ्चार माध्यम तथा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य अमर खड्काले निर्वाचनलाई उत्सवको रुपमा लिँदै लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन भएकाले यसलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, धाँधलीरहित र भयरहित तरिकाले सम्पन्न गर्न सञ्चार माध्यम तथा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले निर्वाचनको सबै पक्षको निगरानी गर्ने र जनतासम्म समेत पहुँच भएका पत्रकारहरूले आफू र अरूलाई पनि आचारसंहिता पालना गर्न, गराउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले निर्वाचनमा मिडियाले मतदाता शिक्षा र नागरिक सचेतनामा महत्त्वपूर्ण भूमिका खेल्दै सत्य, तथ्य र यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेल र नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य एवम् जिल्ला शाखाका पूर्व अध्यक्ष अमर खड्काले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्