तपाईँ सुन्दै हुनुहुन्छः

अस्थायी मतदाताको अन्तिम सूची प्रकाशन हुँदै

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची प्रकाशन हुने भएको छ ।

निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अस्थायी मतदाताको व्यवस्था गरेको हो ।

सो प्रयोजनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नामावली सङ्कलन गरी आयोगको प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो ।

अस्थायी मतदाता सूचीमा समावेश हुन सम्बन्धित व्यक्तिको नाम मतदाता सूचीमा रहेको हुनुपर्ने भएकाले सङ्कलन भएका नामावलीको प्रमाणीकरण भइरहेको प्रवक्ता भुसालले बताउनुभयो ।

हालसम्म एक लाख एक सय ५२ मतदाता अस्थायी नामावलीका लागि प्रमाणीकरण भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button