निर्वाचन सुरक्षाबारे नेपाल भारतका अधिकारीबीच समन्वय बैठक सम्पन्न
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका स्थित तरहरा कृषि अनुसन्धान निर्देशनालयमा नेपाल र भारत जिल्ला स्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ ।
बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बेला नेपाल भारतको सीमा ७२ घण्टा सिल गर्नेदेखि सीमा सुरक्षामा निगरानी र बैठकमा अन्तरदेशीय सीमा अपराध न्यूनीकरणका बारेमा छलफल भएको छ ।
बैठकमा अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था लगायत विषयमा दुवै पक्षबीच छलफल भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
प्रजिअ यादवका अनुसार बैठकमा निर्वाचनका बेला मङ्सिर १ गते राती १२ बजेदेखि मङ्सिर ४ गते राती १२ बजेसम्मका लागि जिल्लाको नेपाल भारत सीमा सिल गर्ने र त्यसमा दुवै सुरक्षा निकायले कडाइका साथ निगरानी गर्ने निर्णय भएको छ ।
बैठकमा नेपालका तर्फबाट सुनसरीका प्रजिअ यादवसहित प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, सशस्त्र प्रहरीका प्रमुख विक्रम होमागाई, सुरक्षा अधिकारीहरू र भारतका तर्फबाट सुपौल जिल्लाका डिएम कौशल कुमार, डि अमरेश, बीरपुरका भारतीय प्रहरी प्रमुख पंकल कुमार मिश्रा, सुरेश प्रसाद, भारतीय सीमा सुरक्षा बलका कमान्डर आलोक कुमार, भारतीय प्रहरीका प्रतिनिधि तथा भारतीय भन्सार कार्यालयका राजीव रन्जन सिंह सहितका प्रतिनिधिको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्