तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम सेती परियोजना सञ्चालनमा ल्याउछौंः प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती परियोजना सञ्चालनमा ल्याउने बताउनुभएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमलाई आर्थिक रूपमा समुन्नत बनाउन पश्चिम सेती आयोजना सुचारु गरिने बताउनुभयो ।

“पश्चिम सेती सुदूरपश्चिमको मात्रै होइन, देशकै अर्थतन्त्र उकास्ने महत्त्वपूर्ण आयोजना हो । यसको निर्माण सम्पन्न गरेपश्चात् हामीले ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्छौँ । पश्चिम सेती निर्माणका लागि सम्झौता भइसकेको छ ।” प्रधानमन्त्री देउवाले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गर्न कूटनीतिक पहल भइरहेको बताउनुभयो । भारत र चीनसँग सीमा विवादका सन्दर्भमा सरकारले कूटनीतिक पहल गर्ने र वार्ताबाटै समस्याको समाधान खोज्ने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार खगराज भट्ट र प्रदेश सभा ख का उम्मेदवार गोविन्द बोहराले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले भोलि अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकाको रुपालमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको काँग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button