तपाईँ सुन्दै हुनुहुन्छः

४३ राष्ट्रिय र ४ अन्तर्राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षण गर्ने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनको पर्यवेक्षण गर्न दिने कानूनी व्यवस्थाअनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पर्यवेक्षणका लागि ४३ वटा राष्ट्रिय तथा ४ वटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिएको छ ।

कतिपय मुलुकलाई आग्रह गरेर नै पर्यवेक्षणका लागि बोलाएको छ । ती संस्थाका पर्यवेक्षकहरूसँगै मतदानका दिन मित्रराष्ट्रका आमन्त्रित विशिष्ट अतिथि एवं नेपालस्थित कूटनीतिक नियोगबाट पनि अनुगमन हुनेछ । 

आयोगले आमन्त्रण गरेकाले मतदानका दिन र अन्य पर्यवेक्षकले १५ दिन अगाडिदेखि नै पर्यवेक्षण गर्ने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो ।

पर्यवेक्षकले आफ्नो मतदाता नामावली रहेको ठाउँमा पर्यवेक्षण गर्न पाउने छैनन् भने सरकारी निकायमा कार्यरत प्राध्यापक, शिक्षक कर्मचारी एवं पदाधिकारीले पनि पर्यवेक्षण गर्न नपाउने व्यवस्था छ । 

त्यस्तै, निर्वाचन कसुर र आचारसंहिता उल्लङ्घनमा सजाय पाएको संस्था वा व्यक्तिले पर्यवेक्षणको अनुमति पाउँदैन । प्रचलित कानून वा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोगले तत्काल पर्यवेक्षक अनुमतिपत्र रद्द गर्नेछ । एउटा मतदानस्थलमा एउटा संस्थाले एकजना मात्रै पर्यवेक्षक खटाउन पाउनेछ । 

पर्यवेक्षकहरूले मतदाताको आवतजावत, निर्वाचन सामग्रीहरूको ओसार–प्रसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणाम घोषणाको समेत पर्यवेक्षण गर्न सक्नेछन् । पर्यवेक्षकले मतदानका क्रममा डर त्रास देखाई मतदाताहरूलाई स्वतन्त्र रूपले मतदान गर्नबाट वञ्चित गर्ने कार्य गरेको पाइएमा तत्काल निर्वाचन आयोग, निर्वाचन अधिकृत, मतदान अधिकृतलाई जानकारी गराउनुपर्नेछ । पर्यवेक्षकहरूले निर्वाचन सकिएपछि तोकिएको अवधिमा निर्वाचन आयोगमा प्रतिवेदन पनि बुझाउनुपर्नेछ  ।

राष्ट्रिय मतदाता अधिकार मञ्चका अध्यक्ष भक्तबहादुर विश्वकर्माले सातै प्रदेशमा पर्यवेक्षक खटाएर निर्वाचनको पर्यवेक्षण गर्ने गरी तयारी गरेको बताउनुभयो । मतदान सुरु हुनु अघिदेखि मतदान सकिएर मतपेटिका सुरक्षित ठाउँमा नपुर्‍याएसम्म हामी अनुगमन गछौँ । उहाँले भन्नुभयो –“मतदानस्थल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गमैत्री छ छैन, मतदाताहरूलाई उम्मेदवारहरूले प्रभावित तुल्याएका छन् कि छैनन् ? निर्वाचन आचारसंहिता पालना भए नभएलगायत समग्रमा निर्वाचन शान्तिपूर्ण रुपमा भयो भएन भनेर पर्यवेक्षण गर्छौ ।” 

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा  निर्वाचन सम्पन्न होस् र निर्वाचनसँग प्रत्यक्ष नजोडिएको स्वतन्त्र पक्षले अवलोकन गर्दा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको सन्देश जाओस् भन्नका लागि निर्वाचनको पर्यवेक्षण गर्न दिने विश्वव्यापी अभ्यास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button