सरकारी जागिरसँगै फूल खेती
बेदकोट I कञ्चनपुर भीमदत्त नगरपालिका १० तिलकेनीमा जनकबहादुर सिंहको बारी सयपत्री फूलले ढकमक्क छ । ढकमक्क फूलबारीमा सिंहको दैनिकी व्यस्त बनेको छ ।
तिहार सकिएसँगै सुरु भएको चुनावको माहोलमा फूलको माला बनाउन र बिक्री गर्नमा सिंहको व्यस्तता बढेको हो । चुनावको तयारीमा माला र फूल खरिदका लागि मानिसहरु सिंहको फूलबारीसम्म पुग्ने गरेका छन् ।
बझाङ तलकोटका सिंह र अन्य तीन जना युवा मिलेर तिलकेनीमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक फूल खेती गदै आएका छन् । सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँगै बागबानी विकास अधिकृत आशीष पाठक, बाली विकास अधिकृत जागृत खनाल र कृषि प्रसार अधिकृत कमलनयन पन्त सरकारी जागिरसँगै व्यावसायिक फूल खेतीमा आबद्ध हुनुहुन्छ ।
“लकडाउनमा गाडीमा तरकारी बेच्ने काम गरियो, यस पटक साथीहरू मिलेर फूल खेती गर्ने सोच बनायौँ”, जनकबहादुर सिंहले भन्नुभयो, “जमिन भाडामा लिएर फूल लगाएपछि केही सिकाइ पनि भयो, अब फूल खेतीमा राम्रो भविष्य छ भन्ने लागेको छ ।”
करिब रु पाँच लाख लगानीमा केही बेर्ना चितवनबाट ल्याएको र केही आफै उत्पादन गरी फूल खेती सुरु गरिएको उहाँको भनाइ छ ।
“सयपत्रीमध्ये पनि चार÷पाँच जातको फूल खेती गरेका छौँ, फूलको माग धेरै छ, तिहारमा पूर्ति गर्न सकेनौँ”, उहाँले भन्नुभयो, “चुनावका लागि भने फूल तयार भइसकेको छ ।”
एउटा बोटबाट दुई वटा माला बनाउनका लागि पुग्ने फूल उत्पादन भइरहेको बाली विकास अधिकृत जागृत खनालले बताउनुभयो । उहाँले अब बाह्रै महिना फूल उत्पादन गर्ने गरी तयारी गरिरहेको बताउनुभयो ।
चुनावमा उम्मेदवारीको प्रचारप्रसार तथा विजय ¥यालीसम्म ठूलो मात्रामा फूल माला खपत हुँदै आएको छ । “प्रतिकिलो रु पाँच सयका दरले र प्रतिमाला रु एक सयका दरले बिक्री गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “एक किलो फूलबाट पाँचदेखि सात वटासम्म माला बनाउन सकिन्छ ।”
समयमा सिँचाइसँगै चिसोबाट बचाउन सके बेमौसममा पनि फूल उत्पादन गर्न सकिने बागबानी विकास अधिकृतसमेत रहेका पुष्प व्यवसायी आशीष पाठकले बताउनुभयो । “पुष्प व्यवसाय राम्रो छ, अझै बजारलाई व्यवस्थित गर्नसके धेरै युवा स्वदेशमै यो पेशा अँगाल्न सक्थे”, पाठकले भन्नुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्