तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

भक्तपुर । भक्तपुरको सानो थिमिमा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको उपचार भइरहेको छ । एक जनाको सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार हिजो साँझ मध्यपुर थिमि नगरपालिका वडा नं. २ सानो थिमि हलेसी मार्ट नजिकको भित्री सडकमा बागमती ए ए २६८७ नं. को स्कुटर र बागमती प्रदेश –०२–०३७ प १८५२ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटी चालक मध्यपुर थिमि नगरपालिका वडा नं. २ मगरगाँउ बस्ने ३५ वर्षिया पुष्पा थापा मगर, उनका ७ वर्षीय छोरा समर्जन थापामगर र मोटरसाइकल चालक झापा कमल गाउँपालिका घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट बस्ने १८ वर्षीय करण दाहाल र मोटरसाईकलमा पछाडि सवार धादिङ गजुरी गाउँपालिका वडा नं. ७ घर भई हाल काठमाडौँ नयाँ बजार बस्ने १७ वर्षिया आयुषा सुवेदी घाइते भएका थिए ।

घाइते मध्ये आयुषा सुवेदीको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा उपचारको क्रममा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।

त्यस्तै घाइते मध्ये पुष्पा र समर्जनको बि एण्ड बि अस्पताल ललितपुर ग्वार्कोमा उपचार भइरहेको छ । अर्का घाइते करण नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारपछि डिस्चार्ज भएको र प्रहरीको नियन्त्रणमा रहेको प्रनाउ पाण्डेले बताउनुभयो ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी प्रभाग सानोथिमीको नियन्त्रणमा रहेको प्रनाउ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button