तपाईँ सुन्दै हुनुहुन्छः

सत्रवटा सञ्चारमाध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण

काठमाडौं । प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको छ ।

यही कात्तिक १६ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणानुसार दुईवटा छापा माध्यम, दुई टेलिभिजन र १३ वटा अनलाइनले निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।

ती समाचार माध्यममध्ये चारवटालाई निर्देशन, दुईवटालाई ध्यानाकर्षण, छवटालाई सचेत र चारवटालाई स्पष्टीकरणपत्र पठाइएको र दर्ता÷सूचीकरण नभएका दुईवटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा केही सञ्चारमाध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको एकपक्षीय वकालत गर्ने, एउटै सामग्रीमा कुनै राजनीतिक दल, दलका उम्मेदवारका बारेमा पक्षपोषण गर्ने र कसैको बारेमा नकारात्मक प्रभाव पार्ने तथा होच्याउने किसिमले तथ्यगत पुष्ट्याइँबेगर विश्लेषण हुने गरेको पाइएको छ । काउसिन्सलले त्यसतर्फ सजगता अपनाउन पनि सम्पूर्ण सञ्चारमाध्यममा आग्रह गरेको छ ।

यस्तै राजनीतिक दलको आमसभा, भेलाजस्ता कार्यक्रममा एक–अर्को दल तथा दलका उम्मेदवारप्रति व्यक्त हुनसक्ने घृणास्पद अभिव्यक्तिलाई स्थान नदिनेतर्फ सञ्चारमाध्यम सजग रहनुपर्नेमा काउन्सिलले जोड दिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा २५९च० मा ‘कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम, अनलाइनजस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने’ व्यवस्था रहेको हुँदा त्यसतर्फ ध्यान पु¥याउन काउन्सिलले पुनः स्मरण गराएको छ ।

काउन्सिलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्घन गर्न सदैव क्रियाशील र सजग रहेको प्रष्ट पार्दै निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगत्को पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित र सन्तुलितरूपमा समाचार सम्प्रेषण गर्न सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ । (रासस)

प्रतिक्रिया राख्नुहोस्

Back to top button