भूकम्प पछि टहरामै विद्यालय

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाँबरे स्यारबाराङमा रहेको एक विद्यालय झण्डै आठ वर्ष देखि टहरामै सञ्चालन हुँदै आएको छ । भूकम्पका कारण पक्की भवनमा क्षति पुगेपछि टहरामै कक्षा सञ्चालन हुँदै आएको वडा नम्बर २ का वडा अध्यक्ष हेमबहादुर पाण्डेले बताउनु भयो ।
२०७२ सालको भूकम्प अघि कक्षा तीन कक्षासम्म सञ्चालनमा रहेको निको भगवती प्राविका भवनहरू भूकम्पले क्षति पुर्याएर कक्षा सञ्चालनमा समस्या भएपछि बन्द भएको थियो । निको भगवती प्राविका विद्यार्थीहरू नजिकको निकोभूमि माध्यमिक विद्यालयमा भर्ना भएका थिए ।
वडा नम्बर २ को सानोबाटा, ठूलोबाटा, कुटिस्याङ, स्यारबाराङ, डम्फा सहितका टोलका बाल कक्षा (इसिडि) मा अध्ययन गर्ने विद्यार्थीहरूलाई समस्या भएपछि टहरा बनाएर पहिले विद्यालय रहेको ठाउँभन्दा केही तल निको भगवती प्राविलाई पुनः सञ्चालन गरिएको वडा अध्यक्ष हेमबहादुर पाण्डेले बताउनुभयो ।
स्थानीयको जग्गा भाँडामा लिएर टहरा बनाई सञ्चालन गरिएको विद्यालयमा अहिले बाल कक्षा (इसिडि) सञ्चालनमा रहेको र कक्षा १ सञ्चालनको तयारी गरिएको वडा अध्यक्ष पाण्डेको भनाई छ । विद्यालयमा ३० जना विद्यार्थीहरू अध्ययन गरिरहेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।
अहिले वडाको पहलमा सडक छेउमा विद्यालयको नाममा जग्गा उपलब्ध भएको र बागमती प्रदेश सरकारले दुई कोठे भवन निर्माणको लागि २५ लाख रुपैयाँ उपलब्ध गराएकोले चाँडै विद्यालयको आफ्नै भवन निर्माण गरी कक्षा सञ्चालन हुने वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।
झण्डै सात सय जनसङ्ख्या रहेको वडाको पाँच वटा टोलको पायक पर्ने विद्यालय भएकोले निको भगवती प्राविमा कक्षा तीनसम्मै सञ्चालन गर्नु पर्ने आवश्यकता भएकोले वडाले थप भवन निर्माण, थप दरबन्दीको शिक्षक र खेल मैदान निर्माणको लागि सरोकारवाला निकायसँग पहल गरिरहेको पनि वडा अध्यक्ष पाण्डेले बताउनु भयो । अहिले विद्यालयमा एक जना बाल कक्षा (इसिडि) को शिक्षकको मात्र दरबन्दी रहेको पाण्डेले बताउनु भयो ।
कालिञ्चोक गाउँपालिकाको शिक्षा शाखा प्रमुख रोशनी आचार्य पालिकाले उक्त विद्यालयमा कक्षा एकसम्म अध्यापनको लागि अनुमति दिने निर्णय गरिसकेकोले त्यसबारे विद्यालयबाट आधिकारिक जानकारी आए एक जना शिक्षकको दरबन्दी थप हुने बताउनु हुन्छ ।
उक्त विद्यालयका विद्यार्थीहरू भूकम्प पछि निकोभूमि माविमा गएको भएपनि आधिकारिक रुपमा विद्यालय मर्ज नभएकोले निको भगवती प्राविमा कक्षा तीनसम्म अध्यापन गर्न समस्या नहुने पनि आचार्यले बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शङ्कर बाबु श्रेष्ठ भूकम्प पछि निको भगवती प्राविका विद्यार्थीहरू अन्यत्र गएको र अहिले उक्त विद्यालय एकिकृत शैक्षिक व्यवस्था (आईईएमआईएस) प्रणालीमा नदेखिएकोले उक्त विद्यालयबारे धेरै जानकारी नभएको बताउनु हुन्छ ।








प्रतिक्रिया राख्नुहोस्