तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताउनुभएको छ ।

गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उहाँले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताउनुभयो ।

मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उहाँले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताउनुभयो ।

‘यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ’, अध्यक्ष दाहालले भन्नुभयो, ‘मुलुकलाई समृद्ध बनाउनका लागि प्रतिबद्धता पत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ, आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभङ्ग गर्नुपर्ने अवस्था छ ।’

मुलुकको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको जनाउँदै उहाँले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गर्नुभयो । ‘हामीले महाधिवशेनबाट नै नेपाली समाजवादको बाटो तय गरेका छौँ’, उहाँले भन्नुभयो, ‘नयाँ आर्थिक क्रान्तिमार्फत मुलुकलाई समृद्ध बनाउन सक्ने माओवादी मात्रै हो ।’ निर्वाचन जित्ने र नजित्ने भन्दा पनि नयाँ पहलकदमीमार्फत देशलाई समाजवादमा लैजाने ढङ्गबाट अगाडि बढिएको उहाँको भनाइ थियो ।

मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उहाँले अब आर्थिक समृद्धिको सुरुवात पनि गोरखाबाटै हुने दाबी गर्नुभयो । ‘म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो’, अध्यक्ष दाहालले भन्नुभयो, ‘यो पार्टी पुनःनिर्माणको अभियान पनि हो ।’

आर्थिक विकास र पूर्वाधारका दृष्टिले गोरखा जिल्ला उपयुक्त रहेको आफूले पाएको जनाउँदै उहाँले बूढीगण्डकी परियोजना तथा उत्तरदक्षिण सडक सञ्जालको विकास गरेर गोरखाको उन्नतिमा गुणात्मक फड्को मार्न सक्ने बताउनुभयो ।

‘गोरखाली जनताको प्रमुख माग सडक निर्माण र स्तरोन्नति रहेको मैले पाएँ, गोरखकाली रबर उद्योग सञ्चालन गरेर ठूलो सङ्ख्यामा रोजगारी उपलब्ध गराउने सम्भावना छ’, उहाँले भन्नुभयो, ‘उपल्लो क्षेत्रमा जडीबुटी तथा ठूला फाँट एवम् टारमा कृषि क्रान्तिको ठूलो सम्भावना छ ।’

आगामी निर्वाचनमा दुई विचार, प्रवृत्ति, संस्कृति र गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उहाँले प्रतिगमनकारी गठबन्धनलाई निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताउनुभयो ।

‘संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको छ’, अध्यक्ष दाहालले भन्नुभयो, ‘अर्को राजावादीसहित प्रतिगमन गर्न चाहनेको गठबन्धन बनेको छ । यी दुई गठबन्धन आमनेसामने छन् । मङ्सिर ४ गते जनताले फैसला गर्नेछन् ।’

मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीले आफ्नो प्रतिबद्धता पत्रमार्फत संरचनागत सुधारको विषय उठाएको जनाउँदै उहाँले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन तथा २०४७ पछि लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषय माओवादीले मात्रै उठाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button