तपाईँ सुन्दै हुनुहुन्छः

समाचकेवा पर्व मिथिलासहित तराई मधेशमा शुरु  

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लामा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि शुरु भएको छ ।
कार्तिक शुक्लपक्ष पञ्चमी तिथिबाट शुरु भएर अगामी पूर्णिमा तिथिसम्म चल्नेछ । छठको खरना विधि सम्पन्न भएपछि दिदीबहिनीहरू समूहमा भेला भएर समाचकेवा खेल्ने गर्दछन् । कार्तिक पूर्णिमाका दिन समाचकेवा पर्वको विधिवत् रुपमा विसर्जन गर्ने चलन रहेको छ ।
दाजुभाइको दीर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामनासहित पर्व मनाउने चलन रहेको छ । समाचकेवा सहितका विभिन्न पात्रहरूलाई बाँसको डालोमा राखेर दियो बाली गाउँ तथा सहरको चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत समाचकेवा सम्बन्धी विभिन्न गीत दिदीबहिनीहरूले गाउने गर्दछन् ।
कार्तिक पूर्णिमाका दिन दाजुभाइबाट समाचकेवालाई तिघ्रामा राखेर फोड्न लगाउने गर्दछन् । जसलाई स्थानीय भाषामा दाजुभाइको ‘फाँर भराउने’ भनिन्छ । यसमा फाडमा च्युरा, मिठा दिदी बहिनीले दिने गर्दछन् । फुटाएको समा तथा चकेवालाई मण्डपमा सजाएर बाजागाजासहित नाचगान गर्दै गाउँको नजिक जोतिएको खेतमा लगेर विसर्जन गरिन्छ ।
तर समाचकेवासंगै बनाइएका चुक्ला चुक्ली तथा अन्य खलपात्रहरुलाई गाउँको फोहर खेतमा लगेर फाल्ने गर्दछ । समाजमा रहेका गलत प्रवृत्तिका व्यक्तिलाई यसरी नै मिल्काउनुपर्ने गहिरो सन्देश समाचकेवा पर्वले दिने गर्दछ । समाजमा रहेका विकृतिमाथि पनि दिदीबहिनीहरुले गीत मार्फत व्यङ्ग्य गर्ने गर्दछन् ।
समाचकेवाको मूर्ति दिदीबहिनीले आफैँ माटोले बनाएर विभिन्न प्रकारको रङ्गले रंगरोगन गर्ने तथा कतिपयले बजारबाट पनि खरिद गर्ने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button