रेडियो नेपाल सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सहसचिव आनन्द काफ्ले

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सहसचिव आनन्द काफ्ले नियुक्त हुनुभएको छ ।
सञ्चालक समिति सदस्यमा एक जना अर्थ मन्त्रालयको सहसचिव रहने प्रावधान अनुसार यस अघिका सञ्चालक समिति सदस्य सहसचिव महेश भट्टराई गत भदौ अन्तिम साता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा नियुक्त हुनु भएपछि रिक्त सदस्यमा गत असोज ७ गतेको मन्त्रिस्तरीय निर्णयबाट सहसचिव काफ्लेलाई अर्थ मन्त्रालयले रेडियो नेपाल सञ्चालक समिति सदस्यमा मनोनयन गरेको हो ।
रेडियो नेपाल सञ्चालक समिति अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्याल, सञ्चालक समिति सदस्य सिताराम पोखरेल, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर के.सी लगायतले सञ्चालक समिति सदस्य काफ्लेलाई सोमबार बसेको सञ्चालक समिति बैठकमा स्वागत गर्नुभयो ।
त्यस अवसरमा अध्यक्ष डा.अर्यालले रेडियो नेपालको विकास र विस्तारका लागि आवश्यक नीति निर्माणमा सदस्य काफ्लेको थप सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
सञ्चालक समिति सदस्य आनन्द काफ्लेले रेडियो नेपालको विकासमा अर्थ मन्त्रालय र आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समितिमा सञ्चार मन्त्रालयका सचिव अध्यक्ष, अर्थ मन्त्रालयका सहसचिव सदस्य, भाषा, साहित्य वा प्रसारणको क्षेत्रबाट एक जना, सङ्गीत तथा कला क्षेत्रबाट एक जना र रेडियो नेपालका कार्यकारी निर्देशक सदस्य सचिव गरी पाँच सदस्सीय सञ्चालक समिति रहने व्यवस्था छ ।







प्रतिक्रिया राख्नुहोस्