तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहसम्म सञ्चार संयन्त्र निर्माण गर्ने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिको आज बसेको बैठकले निर्वाचन प्रचारप्रसारलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म पनि पार्टीको सञ्चार संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रचारप्रसारका लागि आवश्यक सामग्री निर्माण गर्ने र विभिन्न छापा, विद्युतीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट पार्टीको सन्देश सम्प्रेषित गर्ने निर्णय पनि गरेको छ ।

यस्तै केन्द्रीय प्रचारप्रसार समितिको बैठकले चुनावी प्रचारलाई तीव्रता दिन विभिन्न उपसमितिहरू समेत गठन गरेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी नेपाली काँग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीय परिचालन समितिको आजै बसेको बैठकमा सत्ता गठबन्धन दलका उमेद्वारहरुलाई विजयी गराउन पार्टीका सबै तहका संयन्त्रहरूलाई व्यापक परिचालन गर्नेबारे छलफल भएको छ । 

निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्यहरुले पार्टी संयन्त्रलाई गठबन्धनका उमेद्वारको पक्षमा सक्रिय बनाउँदै अनुगमन र समीक्षाका कार्यक्रम गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको नेपाली काँग्रेसले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button