तपाईँ सुन्दै हुनुहुन्छः

सहकर्मी, शुभेच्छुकले यसरी सम्झिए वाङ्मय शताब्दी पुरुष जोशीलाई

काठमाडौँ । “शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुकको सम्पदा ढलेको छ, उहाँ जीवित सम्पदा हुनुहुन्थ्यो”, लोक साहित्य परिषद्का सह संरक्षक प्रेम शान्ति तुलाधरले भन्नुभयो । परिषद्का संस्थापक संरक्षक रहेका जोशीको निधनप्रति भावुक हुँदै तुलाधरले थप्नुभयो, “लोक साहित्य, भाषा संस्कृतिको संरक्षण संवर्द्धनमा मात्रै होइन उहाँको हरेक क्षेत्रमा उत्तिकै योगदान थियो । उहाँको अभाव मुलुकलाई खड्किरहनेछ ।”

File Photo

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि भाषा, साहित्य, सम्पदा र संस्कृतिको संवर्द्धनमा अतुलनीय योगदान पुर्‍याउनुभएका जोशीको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताउनुहुन्छ । “सत्यमोहन जोशी एउटा यस्तो व्यक्ति हुनुहुन्छ, जो १०३ वर्षसम्म अनवरत अध्ययन, शृङ्खलाबद्ध रूपमा राष्ट्रको श्रीवृद्धि गर्नमा योगदान गर्नुभएको छ, उहाँको योगदानको अहिले बयान गरेर साध्य हुँदैन”, उहाँले भन्नुभयो ।

सधैँ राष्ट्र र लोक संस्कृतिको उन्नयनमा अहोरात्र चिन्तन मननका साथ खटिरहने वाङ्मय शताब्दी पुरुष जोशीको निधनले मुलुकको सम्पदा ढलेको शुभेच्छुकहरूको प्रतिक्रिया दिनुभएको छ । संस्कृति, पुरातत्त्व, लोकसंस्कृतिको संवर्द्धन, नेपाली कलालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उहाँको अतुलनीय योगदान थियो । नेपाल भाषा, नेपाली, अङ्ग्रेजी लगायत भाषामा दक्खल, धार्मिक सहिष्णुता आदि विषयमा उहाँको अब्बल योगदान रहेको छ ।

वाङ्मय शताब्दी पुरुष जोशीको निधनले साँच्चिकै देशको भाषा, संस्कृति, सम्पदा र साहित्य जगत्मा अतुलनीय क्षति पुगेको छ । जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानको देश तथा विदेशमा समेत चर्चा हुन्छ ।

सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले एक दिन राष्ट्रिय बिदा दिने निर्णय गरिन्छ भन्नुभएको छ । कुन दिन भन्ने आधिकारिक सूचना सरकारका तर्फबाट प्रकाशित हुनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनले नेपालको साहित्य, संस्कृति र सम्पदाको क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो । मन्त्री श्रेष्ठका अनुसार शोकमा राष्ट्रिय बिदा दिन पर्यटन मन्त्रालयबाट प्रस्ताव गएको र त्यसप्रति प्रधानमन्त्री सकारात्मक रहनुभएको छ ।

शताब्दी पुरुषको जीवनीबारे पुस्तक लेख्नुभएका पत्रकार गिरिश गिरीको अनुभवमा स्व जोशी देशलाई माया गर्ने व्यक्ति हुनुहुन्थ्यो । “त्यो भावनामा होइन यथार्थमा । नेवारी मातृ भाषा भएर पनि खस भाषाको जगेर्नामा उहाँको ठूलो योगदान रहेको छ, उहाँले भन्नुभयो, “उहाँको चमत्कार भनेको स्मरण शक्ति असाध्यै राम्रो थियो । उहाँलाई होस हुँदासम्म नेपालको जुनसुकै इतिहास र घटनाको प्रष्ट व्याख्या गर्नसक्ने खुबी भएको जिउँदो इतिहासको किताब हुनुहुन्थ्यो, राष्ट्रलाई माया गर्ने त्यो उचाइको व्यक्ति गुमाउनुपर्दा सबैलाई दुखित तुल्याएको छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मय र गौरवको प्रवर्द्धन गर्न जोशीले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो । जोशीको योगदानलाई कदर गर्दै प्रतिष्ठानले आजीवन सदस्यता दिएको स्मरण गर्दै उप्रेतीले राज्यले प्रदान गर्ने नेपालकै ठूलो पृथ्वी प्रज्ञा पुरस्कार दुई वर्षअघि प्रदान गरिएको जानकारी दिनुभयो । जोशी हरेक विधाका स्रष्टालाई प्रोत्साहित गर्ने र अहिलेको पुस्ताको प्रेरणादायी व्यक्ति भएको उहाँले उल्लेख गर्नुभयो ।

पत्रकार सुनिल महर्जन नेपाल प्रज्ञा प्रतिष्ठान र पुरातत्त्व विभागको निर्देशक भएर स्व जोशीले नेपाली वाङ्मय क्षेत्रको विकास प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको बताउनुहुन्छ । जोशीले नेपाली भाषा र सभ्यताको थलो सिञ्जा क्षेत्रमा गएर अध्ययन गर्नुभएको थियो । नेपाली लोक साहित्यको प्रवर्द्धनमा पनि उहाँको योगदान थियो । नेपालको लोकसंस्कृति नामक पुस्तकले पहिलो मदन पुरस्कार प्राप्त गरेको थियो ।

“बुबा परिवारवाद भन्दा पनि आदर्श भाव राख्ने व्यक्ति हुनुहुन्थ्यो, राष्ट्र र जनताका लागि सोच्नुहुन्थ्यो, उहाँका लागि परिवार गौण कुरा थियो, हामी नयाँ पुस्ताले उहाँको अनुसरण गर्न सकेनौँ, उहाँ आफ्नो र परिवारभन्दा पनि राष्ट्र र समाजको बारेमा बढी चिन्तित हुनुहुन्थ्यो”, स्व जोशीका जेठा छोरा अणुराज जोशीले भन्नुभयो ।

जोशीसँग विगत १२ वर्षदेखि सहकार्य गर्दै आउनुभएका नेपाल भाषा एकेडेमीका व्यवस्थापक शान्तराज शाक्यको भनाइमा साधारण जीवन र उच्च विचारको प्रणेता जोशीको योगदानलाई राष्ट्रले कदर गर्नुपर्छ । जीवनको अन्तिम क्षणसम्म पनि जोशी दिनरात भाषा साहित्यमा निरन्तर लाग्नुभएको थियो ।

जोशीको माछा पालनको रहर अधुरै
शाक्यको भनाइमा उहाँ (स्व जोशी) मा माछा पालनको धेरै रुचि थियो । माछा पालनसम्बन्धी अध्ययन अनुसन्धान पनि गर्नुभएको थियो । ‘मैले भाषा साहित्यतिर पनि लागेँ, मुद्रा संरक्षण पनि गरेँ, अब थरिथरिका माछा पालेर सन्देश दिन्छु’ जोशीको भनाइ उद्धृत गर्दै शाक्यले भन्नुभयो ।

पाँच वर्षदेखि जोशीको निजी सुरक्षामा रहनुभएका जित महर्जनका अनुसार जोशी सक्रिय जीवन रहुन्जेल हरेक दिन निमन्त्रणा भएका सबै कार्यक्रममा पुग्नुहुन्थ्यो । हिँड्न नसक्ने भएपछि धेरैजसो कार्यक्रम घरबाटै हुन्थ्यो, माइक पाएपछि कम्तीमा पनि आधा घण्टा बोल्नुहुन्थ्यो ।

विसं १९७६ वैशाखमा ललितपुरको बखुम्बाहलमा जन्मनुभएका जोशीको १०३ वर्षको उमेरमा आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button