तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा भेटी गणना सुरु

रुपन्देही । लुम्बिनी विकास कोषले आइतबार मायादेवी मन्दिरमा रहेको दानपेटिका खोलेर भेटी गणना शुरु गरेको छ ।

पहिलो दिन १० लाख ८१ हजार गणना गरिएको कोषले जनाएको छ । कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा दानपेटिका खोलिएको हो ।

आर्थिक वर्ष ०७९/०८० सुरु भएपछि कोषले पहिलो पटक दानपेटिका खोलेको हो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको गणना कार्य तीनसम्म चल्ने कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँले आफूले कोषाध्यक्ष पद समालेदेखि दानपेटिकामा सङ्कलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको बताउनुभयो ।

गणना स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । २४ जना गणकहरूको उपस्थितिमा गणना शुरु गरिएको लेखा शाखाका विकास लामाले बताउनुभयो ।

यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रुपमा दानलाई लिने गरिएको छ । आन्तरिक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ ।

पछिल्लो समय लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button