तपाईँ सुन्दै हुनुहुन्छः

रामेछापमा अलपत्र पर्यटक फाप्लु झरे

(फाप्लु) सोलुखुम्बु सोलुखुम्बुको खुम्बुक्षेत्रमा जान लागेका सयौँ पर्यटक मौसम प्रतिकुलताका कारण रामेछापमा अलपत्र परेपछि सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा झरेका छन् ।

विगत पाँच दिनदेखि तेन्जिङ हिलारी विमानस्थल लुक्लाको मौसम खराबी हुँदा रामेछाप विमानस्थलमा करिब दुई हजार बढी पर्यटक अलपत्र थिए ।

अन्य वैकल्पिक मार्गबाट खुम्बु जानका लागि फाप्लु विमानस्थलमा पर्यटकहरूको ओइरो लागेको छ । सोमबार र मङ्गलबार गरी २५ भन्दा बढी उडान भएको फाप्लुमा करिब साढे तीन सय पर्यटक फाप्लुमा ओर्लिएका छन् । सोमबार रामेछापबाट १६ उडानमार्फत करिब २५० जना र मङ्गलबार पाँच वटा हवाईजहाजबाट ९० जना  पर्यटक फाप्लुमा झरेको नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख भानुभक्त आचार्यले जानकारी दिनुभयो ।

फाप्लु झरेका पर्यटक अन्य वैकल्पिक मार्गको प्रयोग गरी खुम्बुतर्फ लागेका छन् भने केही फाप्लुमै रहेका छन् । मौसममा खराबीकै कारण उडान हुन नसक्दा लुक्लामा पनि चार सय बढी पर्यटक अलपत्र बनेको छन् । तेन्जिङ हिलारी विमानस्थल र गोरक्सेप क्षेत्रमा पर्यटकहरू मौसम सुधारको पखाईमा बसिरहेका बताइएको छ । 

यसअघि तारा, सीता र समिट एयरका रामेछाप–लुक्ला दैनिक ३० वटा नियमित तथा नन–सेडुल उडान हुँदै आएका थिए । बाक्लो कुइरोका कारण भिजिविलिटि अत्यन्त न्यून रहेकोले उडान तथा अवतरणमा समस्या आएको नेपाल नागरिक उडड्यन प्राधिकरण लुक्लाका इन्चार्ज द्वारिकालाल अछामीले बताउनुभयो । विमानस्थल वरपरको भिजिबिलिटी ५० मिटर भन्दा तल रहेको छ । जसलाई उडान क्षेत्रमा निल मानिन्छ । 

सिजनको शुरुमा नै मौसमले साथ नदिँदा समस्या उत्पन्न भएको व्यवासायीहरुले बताएका छन् । कोरोना कहरले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा फेरी मौसमले चुनौती दिएको हो । 

फाप्लु विमानस्थलमा छरपष्ट पर्यटकहरू ।

तस्बिर : सन्तोष राउत

प्रतिक्रिया राख्नुहोस्

Back to top button