बाँकेका ८ वटै पालिका डुबानमा,७ सय बढी घरपरिवार विस्थापित

बाँके । मङ्गलवारदेखि परेको अविरल वर्षाका कारण बाँकेको ८ वटै पालिका बाढी र डुबानबाट प्रभावित भएका छन् । बाँकेको ८ वटै पालिकामा डुबान र बाढीले २ सय बढी घर भत्केका छन् भने ७ सय बढी घरपरिवारका कम्तीमा ३ हजार ६ सय जना विस्थापित भएका छन् ।
बाढीका कारण सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् । राप्ती नदीमा आएको बाढी शुक्रबार राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३ सय ५० घरधुरी विस्थापित भकाएछन् । टिकुलीपुरका करिब ३ हजार मानिस विस्थापित भएका छन् ।
बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेका एक सय भन्दा बढी बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । नदीमा आएको बाढी अहिले पनि खतराको सतह भन्दा माथि बगिरहेको छ । यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरीका २ सय ५० जना विस्थापित हुनुभएको छ ।
यस्तैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ र २० का ४ सय भन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका प्रहरीले जनाएको छ । बाढीले नरैनापुरका २ सय घर भत्केका छन् । त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् ।

डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहा लगायत धेरै बस्ती डुबानमा परेका छन् ।
कतिपय बस्ती दक्षिण सीमा नजिकै भारतले निर्माण गरेको सडकका कारण पानीको प्राकृतिक प्रवाह रोकिँदा डुबानमा परेका हुन् । राप्ती नदीको बाढीले बाँकेको कुसुमस्थित खोकरी गाउँका करिब १० वटा घर डुबान गरेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ अन्तरगत पर्ने उक्त गाउँमा शुक्रवार दिउँसो नै बाढी पस्न सुरु गरेको थियो । बाढीले गाउँका करिब १० वटा घर डुबान गरेको स्थानीय युवा कृष्ण चौधरीले जानकारी दिनुभयो । राप्ती नदीको बहाव अझै बढिरहेकाले सबैलाई सतर्क रहने आग्रह गरिएको छ ।

यसैबीच बाढी र डुबानले प्रभावित भएकाहरूका लागि जिल्ला विपद् व्यवस्थापनले आवश्यक पहल सुरु गरेको छ । पछिल्लो ५ दिनदेखि परेको अविरल वर्षाका कारण बाँकेमा कति घरधुरी प्रभावित भएको र कतिजना विस्थापित हुन पुगेको एकिन तथ्याङ्क निकाल्न सबै पालिकाहरूलाई भनिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाढी र डुबानबाट प्रभावितहरूको तत्काल उद्धार, राहत तथा सुरक्षित आश्रयका लागि तत्काल पहल हुने बताउनुभएको छ ।
समितिको शनिबार बसेको बैठकले विभिन्न ११ बुँदामा निर्णय गरेको छ । समितिको उक्त बैठकमा बाँकेका ८ वटै पालिका प्रमुख, सुरक्षाकर्मी तथा सम्बद्ध सरोकारवालाको उपस्थिति रहेको थियो । बैठकले बाढी प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने, तत्कालका लागि सुख्खा खाना उपलब्ध गराउन सम्बन्धित पालिकालाई व्यवस्थापन गर्न लगाउने र राहत उपलब्ध गराउन राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्था, प्रदेश सरकार र विभिन्न सहयोगी दातृ निकायलाई आग्रह गर्ने निर्णय गरेको समितिद्वारा जारी निर्णयमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्