फेरि थपियो चार लेन सडकको समय
दाङ । घोराहीको बबई नदिदेखि तुलसीपुरसम्मको चार लेन सडक निर्माणको फेरि एक बर्ष अवधि थपिएको छ । २०७५ माघ १४ गते सम्झौता भई २०७८ जेठ ६ गतेभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो ।
कोभिड सङ्क्रमणका कारण २०७८ देखि एक वर्षका लागि समयावधि थपिएको थियो । २०८० असार मसान्तसम्मका लागि फेरि अवधि सकिएको छ । सम्झौताको अवधि सकिएको एक वर्ष पूरा भई दोस्रो वर्षमा लागेको छ ।
२८.०९ किलोमिटर सडक खण्डमा शहरी क्षेत्रमा चार लेन छ भने अन्यत्र दुई लेन रहेको छ । एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकन डलर नेपाली रकम झण्डै एक अर्ब २४ सम्पन्न गर्ने गरी आयोजना सुरु भएको थियो ।
निर्माण कम्पनीले सडक निर्माणमा तत्कालै गरिनुपर्ने काम नै सुरु गरेको छैन । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सडक बिस्तारका लागि बिद्युत् पोल हटाउने र सडक क्षेत्रभित्र पर्ने रुख बिरुवा हटाए मात्रै कामले गति लिने बताउनुभयो । आयोजनाका ईश्वर अमागाईले सडक क्षेत्रमा पर्ने विद्युत् पोल हटाउने काम दशै लगत्तै सुरु गरिने बताउनुभयो ।
उहाँले पोल हटाउनका लागि तुलसीपुर क्षेत्रका लागि १ करोड ५० लाख र घोराही क्षेत्रका लागि करिब ६ करोड बजेट आवश्यक पर्ने भएको बताउनुभयो । आयोजनासँग विद्युत् पोल हटाउनका लागि तत्काल १ करोड ५० लाख बजेट भएकाले दशै लगत्तै विद्युत् प्राधिकरण तुलसीपुरसँग सम्झौता गरेर हटाइने बताउनुभयो ।
निर्माण कम्पनीका इन्जिनियर शेखर शर्माले दशै लगत्तै घोराहीदेखि सर्रा र तुलसीपुरदेखि बेलझुण्डीसम्म सडकमा बेस बिछ्याउन सुरु गरिने बताउनुभयो । बर्षाका कारण सडक क्षेत्रमा बेस बिछ्याउँदा कालोपत्रे भत्किने समस्या भएका कारण वर्षायामपछि दशै लगत्तै वेश बिछ्याउने काम गरिने बताउनुभयो ।
चार लेन सडक योजना समन्वय सहजीकरण समितिको मङ्गलवार सम्पन्न बैठकले दशै लगत्तै आयोजनाको काम सुरु गर्नका लागि विगतमा आयोजना निर्माणका क्रममा निकालिएका रुखहरूको अवस्था, कच्चा पदार्थको अवस्थाका बारेमा अनुगमन गर्ने भएको छ । त्यस्तै आयोजनाबाट तत्कालका लागि घोराही तुलसीपुर सडक खण्ड मर्मत गरे पनि यसलाई निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
समितिका संयोजक नित्यानन्द शर्माको अध्यक्षतामा सम्पन्न बैठकले आगामी दिनमा गरिने कार्य योजना विवरण नै समितिमा पेश गर्न लगाउने निर्णय गरेको छ । सडक खण्डमा खाल्डाखुल्डी हुँदा दिनहुँ दुर्घटना बढिरहेका थिए ।
फोरलेन सडक निर्माणको ठेक्का लिएको तथ्य इन्जिनियरिङले सडक निर्माणका लागि सात पेटी ठेकदार फेरेको छ । कम्पनीले सुभाष श्रेष्ठ, अनुप पाण्डे, जनक डाँगी, अनुप पाण्डे, एकेन्द्र खड्का, विजय पाठक हुँदै रोशन श्रेष्ठले सडक निर्माणको काम गर्ने जिम्मा लिए पनि कामको उपलब्धी भने शून्य जस्तै रहेको छ ।
बाटो चौडा बनाउन खनेको सडक क्षेत्रमा पोल वरपर खन्दा पोल ढल्ने उच्च जोखिम रहेको उहाँले बताउनुभयो । प्राधिकरणसँग बिद्युत् पोल सार्नका लागि घोराही क्षेत्रमा पाँच करोड र तुलसीपुर क्षेत्रमा एक करोडको ठेक्का प्रक्रिया सम्झौता गर्नुपर्ने व्यवस्था भएपनि हालसम्म निर्माण कम्पनीले कुनै सम्झौता नगरेको शाखा प्रमुख गोहवाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्