मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले संविधानको पालनका लागि मुलुकमा सुशासन आवश्यक रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित कार्यक्रममा उहाँले संविधानले गरेका व्यवस्थाको पालना सबैले अपनत्व लिए मात्रै समाजमा सुशासन कायम हुने बताउनुभयो ।
“संविधानप्रति प्रतिबद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन हुँदैन त्यसका लागि पहिले नागरिक देशको नागरिक बन्न पाउनुपर्छ”, उहाँले भन्नुभयो ।
गृहमन्त्री खाणले कुनै पनि नागरिक नागरिकताबाट बञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार गरेको स्पष्ट पार्नुभयो ।

लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद भएको चर्चा गर्दै उहाँले संविधान मान्नुपर्ने अधिकारीबाटै यसको उल्लङ्घन हुनु गलत भएको बताउनुभयो । “नागरिकता नहुँदा एउटा सिम कार्ड किन्न समेत समस्या सृजना भएको छ । यस्तो कथा नेपालका लाखौँ नागरिकको छ यसको जिम्मेवार को हुने ?” उहाँले प्रश्न गर्नुभयो ।
मन र मस्तिष्क जोडेर काम गर्न सके मानवीय विकास सम्भव रहेको चर्चा गर्दै उहाँले सरकार र सरकारका नेतृत्वकर्ताको सही मूल्याङ्कन समेत गर्न आग्रह गर्नुभयो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले सङ्घीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गर्दै यही कारण सङ्घीयता विरोधी प्रश्न उठाउने ठाउँ पाएको बताउनुभयो । आगामी दिनमा सरकारले यसलाई चिर्न सक्नुपर्ने समेत उहाँको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव चन्द्रप्रकाश खनालले राजनीतिलाई सही दिशा दिने काम मिडियाको भएकाले त्यसमा राम्रो भूमिका खेल्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमला, राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष डा।.बालकृष्ण चापागाईँ, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला लगायतले आफ्नो धारणा राख्नुभएको थियो








प्रतिक्रिया राख्नुहोस्