व्यावसायिक वातावरण बनाउन राष्ट्र बैङ्कको ध्यानाकर्षण
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गरि व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैङ्कको ध्यानाकर्षण गराएको छ ।
निक्षेपमै उच्च दरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको चेम्बरको ठहर छ । चेम्बरले नियमनकारी निकाय राष्ट्र बैङ्क समक्ष हाल कायम स्प्रेड दर, एवं बैङ्कहरूको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्र बैङ्कलाई विभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको हो ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको भन्दै निक्षेपमै उच्च दरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साहित हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउने उल्लेख गरिएको छ ।
कर्जा प्रवाह र नवीकरण गर्दा बैङ्क एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउन समेत चेम्बरले माग गरेको छ । यस्तै उच्च दरको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्नका लागि एकल दरको ब्याज कायम गर्न समेत चेम्बरले आग्रह गरेको छ ।
बैङ्कहरूको आधार दरलाई यथाशक्य न्यूनतम बिन्दुमा कायम गरी विगतका वर्षहरुमा जस्तो अधिकतम २ प्रतिशत प्रिमियममा थप हुने व्यवस्था गर्न पनि चेम्बरले राष्ट्र बैङ्कको ध्यानाकर्षण गराएको छ ।








प्रतिक्रिया राख्नुहोस्