राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्न आग्रह

अछाम । अछाममा गत भदौ ३१ गते रातीको अविरल बर्षासँगैको बाढी र पहिरोले २३ जनाको ज्यान जाने गरी भएको घटनाका पीडितलाई राहत सङ्कलनको अभियान सुरु भएको छ ।
विभिन्न संघ संस्था, अभियन्ता तथा व्यक्तिहरूले राहत सङ्कलनको काम सुरु गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अछामले राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्न आग्रह गरेको छ ।
जिल्लामा घटेको प्राकृतिक विपद् (पहिरो ) को घटनाबाट प्रभावितहरूलाई वितरण गर्नका लागि विभिन्न व्यक्ति÷ संघ ÷ संस्थाहरूले राहत रकम सङ्कलन गरिरहेको भन्ने सूचना प्राप्त भएकोले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा भएको व्यवस्था तथा जिल्ला विपद् व्यवस्थापन समितिको मिति २०७९÷०६÷०४ को निर्णय बमोजिम एकद्वार प्रणाली अनुरुप राहत वितरण गर्ने निर्णय भएकोले सोही अनुसार गर्न प्रशासनले निर्देशन गरेको हो ।
राहत वितरण कार्यमा एकरूपता कायम गर्न राहत सङ्कलन गर्ने व्यक्ति, संस्था तथा समूहले जिल्ला प्रशासन कार्यालयको अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने साथै आर्थिक राहत यस कार्यालयको जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा हुने व्यवस्था गर्न प्रशासनले सूचित गराएको छ ।
राहत जम्मा गर्न कोष तथा लेखा नियन्त्रक कार्यालय अछामको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. ४२६०१००१०२०६०००० मा तथा सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा जम्मा गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले भौतिक राहत सामाग्री समेत जिल्ला प्रशासन कार्यालयको अनिवार्य स्वीकृत तथा सम्बन्धित स्थानीय तहको समन्वयमा मात्र वितरण गर्नु गराउनु हुन अनुरोध गरेको छ ।
आज सम्पन्न अछाम जिल्लास्थित कार्यालय प्रमुखको बैठकले सुरक्षा निकाय बाहेक जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालयमा कार्यरत कर्मचारीको न्यूनतम एक दिन बराबरको तलब जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
उक्त रकम भदौ ३१ गते राती घटेको विपद्को घटनाका पीडितहरूलाई हस्तान्तरण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पछिल्लो समय अछाममा ठुलो धनजनको क्षति हुने गरी विपद्का घटना बढिरहेका छन् ।
२०७६ मा कैलाश खोलामा आएको बाढीले रामारोशनका १७ जना बगाएको थियो भने यो बर्षमात्र साउन यता २६ जनाको बाढी पहिरोमा परी ज्यान गइसकेको छ ।
घर, बस्तुभाउ, खेतीबाली, बाटाघाटा, पुलपुलेसा लगायतमा ठुलो क्षति पुर्याएको छ । बाढीपहिरो, भू–क्षय, आगलागी, जङ्गली जनावरको आक्रमण, भीर तथा रुखबाट लडेर अकालमै ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बनजंगलको विनाश, जथाभाबी डोजरले सडक खन्ने तथा आफ्नै लापरबाहीले विपद्का घटना बढिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्