तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय बजारमा नेपाली ग्राहक रोक्न दसैँ सस्तो बजार

भैरहवा । सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सञ्चालन हुने भएको छ । 

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो ।

दसैँ सस्तो बजारबारे जानकारी दिने उद्देश्यले आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीष्म न्यौपानेले नेपालीका चाड पर्वहरूमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन साथ बजारको आयोजना गरिएको बताउनुभयो । 

यस क्षेत्रका अधिकांश नेपाली चाडपर्वको बेलामा मात्र नभएर अन्य समयमा पनि बजार गर्न सीमावर्ती भारतीय बजार सुनौली र नौतनहवा पुग्ने गर्दछन् । 

भारतीय बजारमा जाने नेपाली ग्राहकलाई रोक्ने उद्देश्यका साथ विभिन्न उद्योगी, व्यवसायीसँगको सहकार्यमा उपभोक्ताहरूलाई सर्वसुलभ रूपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरू बिक्री वितरण गरिने कार्यक्रम संयोजक अर्जुन कार्कीले बताउनुभयो । 

विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानको सहभागिता रहने दसैँ बजार २०७९ मा साल्ट ट्रेडिङसहित खाद्यान्न, जुत्ता, चप्पल, दुई पाङ्ग्रे अटो मोबाइलसहितका १५ देखि १७ वटा स्टल रहने उहाँले जानकारी दिनुभयो । यस अवधिमा करिब रु ४० देखि ५० लाख बराबरको कारोबार हुने अनुमान गरिएको कार्यक्रम संयोजक कार्कीले बताउनुभयो ।

दसैँ र तिहार लक्षित बजारमा सीमावर्ती भारतीय बजार सुनौलीमा नेपालीको घुइँचो लाग्ने गरेको छ । यस्ता नेपाली उपभोक्तालाई नेपाली बजारमै रोक्ने सङ्घको उद्देश्य रहेको कार्कीले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button