‘गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै’
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै गएको बताउनुभएको छ ।

आइतबार शाखा अधिकृत स्तरका कर्मचारीको सेवाकालीन तालिमको सुरुआत कार्यक्रममा उहाँले प्रतिष्ठानको छुट्टै महत्त्व रहेको बताउनुभयो ।
प्रतिष्ठानले आइएसओ प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ । मुख्यमन्त्री पोखरेलले आज नै आइएसओ प्रमाणपत्र सार्वजनिक गर्नुभयो । प्रमाणपत्रले अरू प्रदेशको प्रतिष्ठानभन्दा गण्डकी अब्बल रहेको उहाँले सुनाउनुभयो ।
यहाँ बनेको पाठ्यक्रम अन्य प्रदेशका प्रशिक्षण प्रतिष्ठानले प्रयोग गरेकाले सुरुआती समयमा नै फरक खालको क्षमता प्रदर्शन गर्न सफल भएको उहाँको भनाइ थियो । आगामी दिनमा अझै राम्रा काम गर्नका लाग मुख्यमन्त्री पोखरेलले सुझाव दिनुभयो ।
कार्यक्रममा गण्डकीका प्रमुख सचिव रविलाल पन्थ र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेशलाई चिनाउने काममा प्रतिष्ठानले पुलको काम गरिरहेको बताउनुभयो ।
सोही अवसरमा प्रतिष्ठानले अन्तर तहसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानले स्थापनाको ३१ महिनामा प्रदेश र स्थानीय सरकारको पुलका रूपमा काम गरेको बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्