उपलब्धि रक्षाका लागि चुनावपछि सडकमा जान्छौँ: अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति प्रहार हुँदै आएकाले त्यसको रक्षाका लागि मङ्सिर ४ गतेको निर्वाचनपछि सडकमा जाने उद्घोष गर्नुभएको छ ।
काठमाडौँमा मार्क्सवादी ज्ञान केन्द्रद्वारा आज आयोजित ‘नेपाली समाजवादको मार्गचित्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको तथा परिवर्तनलाई उल्ट्याउने र त्यसको नेतृत्वलाई निस्तेज पार्ने क्रम चलिरहेकाले त्यसविरुद्ध सडक आन्दोलन जरुरी भएको बताउनुभयो ।
उहाँले अहिलेको निर्वाचन प्रणालीलाई कायमै राखेर भ्रष्टाचारमुक्त समाज परिकल्पना सम्भव नभएका बताउनुभयो । यो निर्वाचन प्रणालीले भ्रष्ट र दलाल पुँजीपति वर्गलाई नै अगाडि ल्याउने उहाँले बताउनुभयो । यसले थाहै नपाई पार्टीका नेतालाई पनि भ्रष्टीकरणमा जान पनि बाध्य पार्ने उहाँले बताउनुभयो । उहाँले यसलाई अन्त्य गर्न कम्तीमा पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले कृषिको क्षेत्रमा क्रान्ति नल्याई आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सम्भव नभएको बताउनुभयो । उहाँले रुस युक्रेन युद्धका कारण संसारभर आर्थिक सङ्कटको स्थिति पैदा भएको र अझ ताइवानको विषयमा अमेरिका र चीन आमनेसामने भइसकेपछि नयाँ राजनीतिक ध्रुवीकरणको स्थिति देखा परेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको चेतनास्तर परिवर्तन गर्न नसकेमा समाजवादको परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले व्यक्तिवादी, भ्रष्ट प्रवृत्ति निमिट्यान्न नभएसम्म समाजवाद आउनै नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको समस्या प्रति कति संवेदनशील छ भन्ने कुराले समाजवादको निर्धारण हुन्छ ।”
अध्यक्ष नेपालले राजनीतिक दलमा गैर राजनीतिक प्रवृत्ति हाबी हुँदै गएको बताउनुभयो । पार्टीका नेताहरू जनता र राष्ट्रप्रति जिम्मेवार नभएको र लोकतन्त्रप्रति गम्भीर नभएकाले यसप्रति गम्भीर रुपमा आत्म समीक्षा गर्न जरुरी रहेको औँल्याउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का नेता घनश्याम भुसालले सरकारमा गएर मात्रै रूपान्तरण नहुने कुरा ३०/४० वर्ष कम्युनिष्ट पार्टी सरकारमा गएबाट स्पष्ट भएको बताउनुभयो । त्यसले रूपान्तरण गर्न सकेन भने कुनै पनि अर्थ नहुने भुसालको भनाइ थियो । उहाँले नेपालमा जनवादी क्रान्ति सकिएकाले अबको बाटो समाजवादी क्रान्ति नै भएको र त्यसका लागि पहिले कृषि क्रान्ति आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्नेमा जोड दिँदै कम्युनिष्ट पार्टीबिच एकताको आवश्यकता रहेको बताउनुभयो ।
रासस
प्रतिक्रिया राख्नुहोस्