तपाईँ सुन्दै हुनुहुन्छः

मनाइयो कागे अष्टमी पर्व (फोटोफिचर)

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइएको छ । 

कागे अष्टमी पर्वमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नै पर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास समेत रहेको छ ।

श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । 

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा जान भक्तजनहरूका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको, स्थानीय उत्पादनलाई प्रदर्शन तथा बिक्रीमा राखिएको र स्थानीय कला संस्कृतिको प्रदर्शन समेत गरिएको वडा नं. १ का अध्यक्ष मुकुन्द गजुरेलले जानकारी दिनुभयो  । 

मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायले सांस्कृतिक झाँकी प्रदर्शन समेत गरेको उहाँले बताउनुभयो ।

मन्दिर परिसरमा हाल दुई सय २७ किलोको अष्ट धातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक सहिद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button