तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट निधिको नाम प्रत्यक्षमा सिफारिस नभएपछि राजनीतिमा तरङ्ग

जनकपुरधाम । नेपाली काँग्रेस धनुषाको निर्वाचन क्षेत्र नंं ३ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको नाम प्रत्यक्षतर्फ सिफारिस नभएपछि धनुषाको राजनीतिमा तरङ्गित भएको छ । 

काँग्रेसका उपसभापति समेत भइसक्नु भएका काँग्रेसका नेता निधि नेपाल सरकारको उपप्रधानमन्त्री एवं गृहमन्त्री जस्तो शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाएर काम गरिसक्नु भएका निधि आफैले प्रत्यक्षमा निर्वाचन नलड्ने जनाएपछि क्षेत्रिय समितिले उहाँको नाम समानुपातिक तर्फ पठाएको छ । 

यस अघिको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोसँग पराजित हुनु भएको थियो । तर संविधान सभा चुनावमा निधि निर्वाचित हुनु भएको थियो । हालै सम्पन्न भएको स्थानीय तहको चुनावमा नेपाली काँग्रेसले सोही क्षेत्रका अधिकांश स्थानीय तहमा निर्वाचित भएको छ । तर पनि नेपाली काँग्रेसका नेता निधि प्रत्यक्षमा चुनाव नउठ्ने भएपछि सो क्षेत्रका निधिका समर्थकहरू निराश बनेका छन् । 

स्थानीय तहको चुनावमा काँग्रेसले प्राप्त गरेको मत तथा अहिलेको गठबन्धनका कारणले निधिको जीत सुनिश्चित भएपनि पार्टी भित्र अन्तर्घात हुने त्रासका कारणले काँग्रेसका प्रभावशाली नेता निधि प्रत्यक्ष भन्दा पनि समानुपातिक तर्फ सुरक्षित हुने देखेर समानुपातिक रोज्नु भएको चर्चा चलेको छ । 

काँग्रेसका नेता निधि भौतिक पूर्वाधार तथा विकासमन्त्री भएका वेलामा धनुषाको निर्वाचन क्षेत्र नंं ३ को गाउँ गाउँमा कालोपत्रे तथा नालाका साथै जटही जनकपुर ढल्केवर ६ लेन व्यापारिक राजमार्ग, जनकपुरधाममा एकीकृत शहरी विकास आयोजना बाहेकका सडकहरूमा सघन शहरी कार्यक्रम अन्तर्गत कालोपत्रे गर्ने काम भएको थियो । 

यति मात्र नभएर पूर्ण सरकारी अनुदानमा राजर्षि जनक विश्व विद्यालयको स्थापना गराउनुका साथै अरू थुप्रै राम्रा कामकाज गरेका कारणले यस पटक निधिको जीत सुनिश्चित भएकोमा निधि निकटका कार्यकर्ताहरू ढुक्क भएपनि प्रत्यक्षमा चुनाव नलड्ने भएपछि कार्यकर्ताको मनोबल घटेको छ । 

यसका साथै निधि पछिको सो क्षेत्रको उत्तराधिकारी को बन्ने भन्ने चर्चा पनि चलेको छ । काँग्रेसका क्षेत्रिय समितिको बैठकले प्रत्यक्ष तर्फ गणेश तिवारी र परमेश्वर महासेठको नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट एमालेका नेत्री जुली कुमारी महतो महासेठले यस अघि नै उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । 

अहिलेका सांसद एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले चुनाव लड्ने विषयमा हालसम्म पनि मुख खोलेका छैन । महतो नेकपा एमालेसँग पार्टीले गठबन्धन गरेको खण्डमा मात्र आफू चुनाव लड्ने मनस्थितिमा रहनु भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button