तपाईँ सुन्दै हुनुहुन्छः

कार्यदलको बैठकमा प्रदेश सभाको सिट बाँडफाँडबारे छलफल

काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको आजको बैठकमा प्रदेश सभाको सिट बाँडफाँडका सम्बन्धमा छलफल भएको छ ।

file photo

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रदेश सभा तर्फका सबै ३ सय ३० निर्वाचन क्षेत्रमा दलहरूको साङ्गठनिक अवस्थाबारे छलफल भएको र सोही आधारमा दलहरूले आ–आफ्नो दाबी पेश गरेको बैठकपछि कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा दलहरूले दाबी गरेको सिट सङ्ख्या वास्तविक सिट सङ्ख्या भन्दा धेरै भए पनि प्रतिनिधि सभा र प्रदेश सभामा सकेसम्म फरक–फरक दलको उम्मेदवारी रहने गरी भागबन्डा मिलाउने प्रयास भइरहेको मन्त्री कार्कीले बताउनुभयो ।

यस्तै बैठकमा सत्ता गठबन्धन दलहरुबीच साझा कार्यक्रमहरू तय गर्ने र निर्वाचन पछि समेत गठबन्धन कायम रहने विषयमा समेत छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

मन्त्री कार्कीले मुलुकको स्थिरता विकास र समृद्धिका लागि निर्वाचनपछि समेत गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्नेमा दलहरू सहमति नजिक रहेको र सिट बाँडफाँडको टुङ्गो लाग्नासाथ साझा अवधारणा सार्वजनिक गर्ने गृहकार्य कार्यदलले गरिरहेको बताउनुभयो ।

कार्यदलको अर्को बैठक आइतबार बेलुका ४ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button