‘संसदीय समितिहरू विमतिलाई सहमतिमा ल्याउने महत्त्वपूर्ण थलो’
काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले कतिपय दलीय विमतिलाई सहमतिमा ल्याउने महत्त्वपूर्ण थलो संसद्का समितिहरू बनेको बताउनुभएको छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिले प्रकाशन गरेको ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समिति: अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा सभामुख सापकोटाले संसद्को महत्त्वपूर्ण काम, कानुन निर्माणमा समितिको भूमिका प्रभावकारी हुने गरेको बताउनुभयो ।

उहाँले उदीयमान व्यवस्थापिकाको चाहना भनेकै संसद्लाई जीवन्त र जनमुखी बनाउनुपर्ने भन्दै आफ्नो ध्यान सधैँ त्यसतर्फ रहेको धारणा राख्नुभयो ।
सभामुख सापकोटाले बजेट अधिवेशनमा २८ वटा विधेयक पारित भएको जानकारी दिँदै गुणात्मक कानुन निर्माणमा संसदले अझ बढी मेहनत गर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
उहाँले संघीय संसद्का कतिपय समितिमा दोहोरोपन देखिएको भन्दै यस्ता विषयमा समीक्षा गर्नुपर्ने बताउनुभयो ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले महत्पूर्ण विषय समेटेर पुस्तक प्रकाशन गरेर समितिले आफ्नो काम र उपलब्धिको अभिलेखीकरण गरेको बताउनुभयो ।
राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले कानुन, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको पुस्तकमा समितिका अभ्यास, उपलब्धि र केही विज्ञका लेखहरू प्रकाशन गरेको भए पनि केही अन्य महत्त्वपूर्ण विषयहरू छुटेको बताउनुभयो ।
समिति सदस्यहरु देव प्रसाद गुरुङ, मीन विश्वकर्मा र शेर बहादुर तामाङले प्रकाशित पुस्तकमा समितिले गरेका महत्त्वपूर्ण कामहरू समेटिएको र थप गर्न सकिने केही विषय छुटेको बताउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्