तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक बन दिवस–२०७९ को अवसरमा निजगढमा वृक्षारोपण

बारा । सामुदायिक बन दिवस–२०७९ को अवसरमा बाराको निजगढमा वृक्षारोपण गरिएको छ । बाघ भैरव सामुदायिक बनस्थित मोहोरी पार्कमा विभिन्न प्रजातिका करिब ५ सय बिरुवाहरू रोपिएको थियो । 

“बनको दिगो व्यवस्थापनको लागि सामुदायिक अधिकार : उद्यमशीलता र सशक्त सङ्गठन समृद्धिको आधार” भन्ने मुल नाराको साथ कार्यक्रम गरिएको थियो । बाराको विभिन्न पाँच हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने योजना बन कार्यालयको रहेको छ । 

उद्योग, पर्यटन तथा बन मन्त्रालयका मधेश प्रदेश सचिव विशाल घिमिरेले वृक्षारोपण गरेर वृक्षारोपण कार्यक्रमको सुरुवात गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै सचिव घिमिरेले बन संरक्षणमा सरकारको साथसाथै बन संरक्षण उपभोक्ता समूह पनि सँगसँगै लाग्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले उपभोक्ता समूहको काम कारबाहीमा पारदर्शिता हुँदा कतिपय समस्याहरू आफै हराएर जाने गरेका कारण पारदर्शिताको आवश्यकता औँल्याउनुभयो । 

सामुदायिक बन सिकाइको आधार पनि भएकाले समूहहरूले उत्पादन गरेको काठ चाँडो भन्दा चाँडो उपभोक्ता समूहलाई वितरण गर्नुपर्ने बताउनुभयो । उपभोक्तालाई चाहिने भन्दा बढी काठ भयो भने व्यापारीहरूलाई बिक्री गर्न सल्लाह दिनुभयो । 

त्यस्तै प्रदेशका बन निर्देशक जगन्नाथ जैसवालले सामुदायिक बन पर्यापर्यटनको  संरक्षण गर्दै आयआर्जन गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक  भन्ने शब्द समुदाय र दायित्व मिलेर बनेकाले सामुदायिक बन उपभोक्ता समूहहरूले बन संरक्षणप्रतिको आफ्नो दायित्व भुल्न नहुने बताउनुभयो । 

जुनसुकै क्षेत्रमा सुशासनको अभावमा विभिन्न समस्या आउने गरेकाले सुशासनको पालना सबैले गर्नुपर्ने सल्लाह दिनुभयो । उद्योग, पर्यटन तथा बन मन्त्रालय मधेश प्रदेश, सामुदायिक बन उपभोक्ता समूहहरू, सामुदायिक बन उपभोक्ता महासङ्घ, जिल्ला महासङ्घ बारा, प्रदेश बन निर्देशनालय र डिभिजन बन कार्यालय बाराको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । 

सामुदायिक बन उपभोक्ता संघ बाराका अध्यक्ष रामजी प्रसाद बजगाईँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य डिभिजन बन कार्यालय बाराका रेञ्जर सन्दीप पटेलले राखेका थिए भने कार्यक्रमको सञ्चालन बन अधिकृत अनिल साहले गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button