तपाईँ सुन्दै हुनुहुन्छः

राजनैतिक दलहरू कमजोर हुँदा दलीय व्यवस्था नै कमजोर हुन्छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राजनैतिक दलहरूले आफ्नो कार्यशैली र व्यवहारमा सुधार नगरे अहिलेको लोकतान्त्रिक शासन व्यवस्थामाथि नै खतरा आउन सक्ने बताउनुभएको छ । 

संसद् सचिवालयले आज काठमाडौँमा आयोजना गरेको निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत मतदाताले दिएको सन्देश बुझेर दलहरूले आफूलाई परिवर्तन गर्न नसके अहिलेको राजनैतिक व्यवस्था नै असफल हुने खतरा रहेको बताउनुभयो । 

उहाँले संविधानले कल्पना गरेको सबैको समान सहभागिताको मान्यतालाई व्यवहारमा लागु गर्न नसक्दा राजनैतिक दलहरूप्रति मतदाताको आकर्षण घट्दै गएको बताउनुभयो ।

राजनैतिक दलहरू कमजोर हुँदा दलीय व्यवस्था नै कमजोर हुने बताउनुहुँदै सभामुख सापकोटाले महिला लगायत सबैको सहभागिता सुनिश्चित गरी मतदाताको विश्वास जित्न राजनैतिक दलहरूले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले जनताको बलिदानबाट प्राप्त राजनैतिक परिवर्तनले जनताको जीवनमा के परिवर्तन ल्यायो र उनीहरूले के पाए भन्ने प्रश्नको जवाफ परिवर्तनको नेतृत्व गर्ने दलहरूले दिनुपर्ने बेला आएको पनि बताउनुभयो ।

कार्यक्रममा उप–सभामुख पुष्पा भुषाल गौतमले महिलाहरूलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाई समाजको पितृसत्तात्मक सोच र महिलाहरू कमजोर हुन्छन् मनोवैज्ञानिक दृष्टिकोण परिवर्तन गर्न राजनैतिक दलहरूले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले समानताको सिद्धान्तका आधारमा महिला सहभागिता सुनिश्चित हुनसके मात्रै संविधानले दिएको समानताको हकको सही अर्थमा कार्यान्वयन हुने बताउनुभयो ।  

यस्तै, पूर्व सभामुख ओनसरी घर्तीले महिला सहभागिता आरक्षण प्रणालीमा मात्रै सीमित रहँदा महिलाहरूको आत्मबल घट्दै जाने हुनाले प्रत्यक्ष निर्वाचन र खुल्ला प्रतिस्पर्धामा अवसर दिनुपर्ने बताउनुभयो ।

उहाँले महिला सहभागिताका अहिले नै निर्वाचन प्रणालीमा कुनै परिवर्तन गर्न सम्भव नभएको हुनाले आ–आफ्नो राजनैतिक दलभित्र दबाब सिर्जना गरी प्रत्यक्ष निर्वाचन तर्फ उम्मेदवारको सङ्ख्या बढाउनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button