चार अस्पताललाई आधुनिक एम्बुलेन्स हस्तान्तरण
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आधुनिक स्वास्थ्य सामग्री यन्त्र जडान भएका चार एम्बुलेन्स चार अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आज आयोजित कार्यक्रममार्फत एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
प्रदेश सरकारले स्वास्थ्य तथा विपद् आपत्कालीन अवस्थामा नागरिकको उपचारमा सहज पहुँचका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत उक्त एम्बुलेन्स भन्सार छुटसहित प्रति वटा रु ५९ लाख ५० हजारमा खरिद गरेको हो ।
प्रदेश सरकारको १४ जिल्ला अस्पतालमा १४ थान एम्बुलेन्स र १४ थान शवबाहन उपलब्ध गराउने नीतिअनुसार पहिलो चरणमा उक्त एम्बुलेन्स प्रदान गरिएको हो ।
मुख्यमन्त्री राईले उक्त एम्बुलेन्सका चाबी इनरुवा जिल्ला अस्पताल सुनसरी, उदयपुर जिल्ला अस्पताल उदयपुर, मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर उर्लाबारी मोरङ र मेची अस्पताल झापाका मेडिकल सुपरिटेन्डेन्ट क्रमशः डा देवराज घिमिरे, डा मुकेश झा, डा रवि साह र डा टङ्कप्रसाद बराकोटीलाई हस्तान्तरण गर्नुभयो ।
मुख्यमन्त्री राईले जनतालाई गुणस्तरीय एवं सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्वअनुसार एम्बुलेन्सको व्यवस्था गरेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री जयराम यादवले वर्तमान सरकार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउन क्रियाशील रहेको बताउनुभयो ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साह र मन्त्रालयका सचिव अनोज भट्टचनले चाँडै दोस्रो चरणमा थप पाँच जिल्ला अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने जानकारी दिनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्