निर्वाचन आयोगको बागमती प्रदेश स्तरीय समीक्षा सम्पन्न
चितवन । निर्वाचन आयोगले बागमती प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यशाला आज चितवनमा सम्पन्न गरेको छ । बागमती प्रदेशका जिल्लाहरू र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सरोकारवालाको उपस्थितिमा समीक्षा गरिएको हो ।
त्यस अवसरमा आयोगका आयुक्त सगुन शमशेर राणाले समीक्षा कार्यक्रममा प्राप्त सुझावलाई आयोगले कार्यान्वयनका लागि छलफलमा राख्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा पुर्याएको भूमिकाको आयोगले उच्च सम्मान गरेको भन्दै उहाँले अब हुने निर्वाचनमा त्यही ढङ्गबाट जुट्नुपर्नेमा जोड दिनुभयो । प्राप्त सुझावलाई केन्द्रीय तहमा समीक्षा गरेर बाधा व्यवधानहरू फुकाउँदै अघि बढ्ने उहाँले विश्वास दिलाउनुभयो ।
आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचनको सम्पूर्ण गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागीबाट पाँच समूह विभाजन गरेर स्थानीय तहको निर्वाचनमा भएका सबल पक्ष, कमीकमजोरी र सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरी सुझावसहित प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र मकवानपुरका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, निर्वाचन अधिकृत, राजनीतिक दलका नेता, नागरिक समाज, पर्यवेक्षक लगायतको सहभागिता रहेको थियो । अन्य जिल्लाबाट जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत समेतको उपस्थिति रहेको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्