चितवनमा जनशक्ति र स्रोतसाधनको अभावले सवारी दुर्घटना न्यूनीकरणमा चुनौती

चितवन । चितवनमा पछिल्लो समय सवारी दुर्घटनाको सङ्ख्या बढ्नुमा मुख्य चुनौती जनशक्ति र स्रोतसाधन अभाव भएको पाइएको छ । दिनहुँ सवारीसाधनको सङ्ख्या वृद्धिको तुलनामा ट्राफिक प्रहरी जनशक्ति नहुँदा दिनहुंँजसो दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको हो ।
चालकको लापरबाही, तीव्र गति, सडकको दुरावस्था र मापसेका कारण दुर्घटना न्यूनीकरण हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । ट्राफिक प्रहरी र पत्रकारबीच आज कार्यालय परिसरमा भएको अन्तर्क्रियामा मुख्यतया जनशक्ति अभाव र साधनस्रोत कम भएको बताइएको हो ।
अन्तर्क्रियामा बोल्दै ट्राफिक प्रहरी प्रमुख धर्मबहादुर अधिकारीले जनशक्ति अभाव र साधनस्रोत कमीका कारण दुर्घटना न्यूनीकरणमा चुनौती थपिएको बताउनु भयो । ‘सडकहरूको निर्माण कार्य पनि बढेको छ, सवारी साधन सङ्ख्या पनि उक्तिकै बढेको अवस्था छ उहाँले भन्नुभयो, हाम्रो जनशक्ति जिल्लामा ६० जना मात्र छौँ ।‘ दुर्घटना न्यूनीकरणका लागि मापसे चेकिङका लागि ब्रेथलाइजर, सवारीसाधनको गति जाँचका लागि राडरगन, लिडर गनपनि नभएको उहाँले बताउनु भयो ।
‘पहिला राडर गन र लिडर गन र ब्रेथलाइजर पनि थियो उहाँले भन्नुभयो, अहिले ती चालु हालतमा पनि छैनन् ।’ चितवन भएर देशकै विभिन्न भागमा साना तथा ठूला सवारी चल्ने भएकोले ट्राफिक व्यवस्थापनमा चुनौती भएको उहाँको भनाई छ ।
चितवनमा राजमार्गको क्षेत्रफल ९३ दशमलव ३९ किलोमिटर छ भने, अन्य कच्ची तथा पक्की सडक २ हजार ९ सय २३ किलोमिटर छ । जनशक्ति अभावका कारण शहर बजारमा बढी ट्राफिक प्रहरी परिचालन गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले आगामी दिन हरेक वडाका टोल विकास संस्था, यातायात कम्पनी, विद्यालयका विद्यार्थी , चालक लगायत सरोकारवालाहरूलाई सचेतना तथा अभिमुखीकरणलाई निरन्तरता दिन लागिएको उहाँले बताउनु भयो । ‘दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले मात्र पर्याप्त हुँदैन उहाँले भन्नुभयो, यसका लागि चालक पनि अनुशासित हुनुपर्छ, सम्बन्धित पक्षको पनि ध्यान जानुपर्दछ ।’ हाल चितवन भएर दैनिक २० हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्छन् ।







प्रतिक्रिया राख्नुहोस्