प्रहरी र परिवारका सदस्यलाई उपचारमा २५ प्रतिशत छुट हुने
चितवन । नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरीका परिवारका सदस्यहरूलाई चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा २५ प्रतिशत छुट हुने भएको छ । अस्पताल र नेपाल प्रहरी श्रीमती सङ्घबिच आज यससम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. दयाराम लम्साल र संघका तर्फबाट अध्यक्ष कुसुम लता सिंहले हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी, अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा लगायतको उपस्थिति थियो ।
सम्झौता अनुसार नेपाल प्रहरी र पूर्व प्रहरीसहित उनीहरूका परिवार र अमर प्रहरीका परिवारले चितवन मेडिकल कलेजमा उपचार गराउँदा उपचार सेवाहरूमा २५ प्रतिशत छुट सुविधा पाउने छन् । यस्तै फार्मेसीमा ७ प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ । उक्त सेवा लिनका लागि सङ्घले उपलब्ध गराएको परिचयपत्र आवश्यक पर्ने सम्झौतामा जनाइएको छ ।
यो सम्झौता आउँदो साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नवीकरण गर्न सकिने जनाइएको छ । नेपाल प्रहरी र पूर्व प्रहरीसहित उनीहरूका परिवार र अमर प्रहरीका परिवार नेपालका जुनसुकै ठाउँको भए पनि परिचयपत्र सहित आएमा यो सुविधा उपभोग गर्न पाईने सम्झौतामा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्