अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्धको २२ लाख मात्रा बाल खोप प्रदान गर्ने

काठमाडौँ । अमेरिकी सरकारले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २२ लाख मात्रा बाल खोप अनुदान स्वरूप प्रदान गर्ने भएको छ ।
५ देखि ११ वर्ष सम्मका बालबालिकालाई लक्षित गरी अत्यन्त प्रभावकारी, जीवन रक्षक खोप अमेरिकाले नेपाललाई प्रदान गर्ने भएको हो । अब अमेरिकाले नेपाललाई फाइजर खोपका २२ लाख ६० हजार मात्रा खोप थप दिने अमेरिकी दूतावासले जनाएको छ । यस अघि नै अमेरिकाले जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोपको १५ लाख मात्रा पहिले नै प्रदान गरिसकेको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले नेपाल–अमेरिका सम्बन्धमा थप मजबुत हुनुका साथै यस अनुदानले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्धको सम्मान पनि गरेको दूतावासले जनाएको छ । कोभिड–१९ महामारीको सुरुवातदेखि नै कोभिडविरुद्ध लड्न, अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा महामारीले पारेका सामाजिक तथा आर्थिक प्रभावहरूलाई न्यूनीकरण गर्न नेपाललाई अमेरिकी सरकारले प्रत्यक्ष रूपमा सहयोग गर्दै आइरहेको छ ।
बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले उक्त खोप लगाउने विषयमा ५६ जिल्लाहरूमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्न नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेको थियो ।
विश्वव्यापी रूपमा अमेरिकाले ११५ विकासोन्मुख देशहरूलाई १ अर्ब १० करोडभन्दा बढी कोभिड–१९ खोपको अनुदान दिने वाचा गरेको छ र ५० करोडभन्दा बढी मात्रा उपलब्ध गराइसकेको छ । ४ अर्ब अमेरिकी डलरको योगदान गर्ने अमेरिका विश्वव्यापी खोप कोभ्याक्सको सर्वाधिक ठुलो द्विपक्षीय दाता पनि हो ।
साथै कोभिड–१९ प्रतिकार्यको नेतृत्व गर्न अमेरिका प्रतिबद्ध रहेको र महामारीको अन्त्य गर्न नेपालसँग सहकार्य गरेकोप्रति अमेरिकाले गर्व महसुस भएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्