तपाईँ सुन्दै हुनुहुन्छः

कानून विपरीतको नियुक्ति बदर गर्न उच्च अदालतमा रिट निवेदन दर्ता

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर सतिस कुमार देवको नियुक्ति बदरको माग गर्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रिय युवासंघका उपाध्यक्ष अनिल काफ्लेले दर्ता गर्नुभएको रिट निवेदनमा देवलाई कानून विपरीत नियुक्ति गरिएको भन्दै उनको नियुक्ति उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको हो ।

निवेदकको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश निर्मला शाक्यको इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । निवेदकको माग बमोजिम आदेश किन जारी हुनुनपर्ने हो ? कुनै आधार प्रमाण वा कागजात भए बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूका नाममा उच्च अदालतले आदेश जारी गरेको हो । 

डाक्टर सतिस कुमार देवलाई आफै वा आफ्ना कानून व्यवसायी मार्फत लिखित जवाफ पेश गर्न भनिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय सहितका अन्य विपक्षीहरूलाई मुख्यन्यायधिवक्ता मार्फत लिखित जवाफ पेश गर्न आदेश गरिएको छ ।

निवेदकका तर्फबाट अधिवक्ताहरू ध्रुव प्रसाद चौलागाई, मदन दाहाल, मन प्रसाद भट्टराई र बालकृष्ण अधिकारीले बहस गर्नु भएको थियो । देव चिकित्सा अध्ययन संस्थानको सह प्राध्यापक हुँदा गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको अभियोगमा उहाँ माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

अख्तियार दुरुपयोग आयोग ऐन, २०५९ को दोस्रो संशोधनको दफा १७ ले भ्रष्टाचार अभियोगमा थुनामा परेका  व्यक्ति वा मुद्दा चलेका व्यक्ति मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बनमा परेको मानिने र त्यस्तो व्यक्तिलाई सरकारले अन्य सार्वजनिक स्थानमा नियुक्ति गर्न नपाइने कानूनी व्यवस्था विपरीत उनको नियुक्ति गरिएको थियो । विशेष अदालतले उहाँलाई सफाइ दिएपनि सर्वोच्च अदालतले विशेष अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्ने सक्ने भन्दै प्रत्यर्थी झिकाउने आदेश दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button