आइसिसीद्वारा क्यानमाथिको कन्ट्रोल फन्डिङ फुकुवा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) माथि लगाउँदै आएको कन्ट्रोल फन्डिङ फुकुवा गरेको छ ।

क्यानले मङ्गलवार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको जनाएको छ । आइसिसीले निलम्बनसँगै क्यानलाई कन्ट्रोल फन्डिङमा राखेको थियो । २०७६ साल असोज ११ र १२ गतेको विशेष साधारण सभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आइसिसीले क्यानको निलम्बन फुकुवा भएको थियो ।
तर, कन्ट्रोल फन्डिङ फुकुवा भएको थिएन । नयाँ कमिटीले आइसिसीको सम्पूर्ण मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शिता र कार्य सम्पादन गरेको मूल्याङ्कनको आधारमा आइसिसीले कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको क्यानले जनाएको छ ।
कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आइसिसीबाट अन्य एक दिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने छन् । कन्ट्रोल फन्डिङ फुकुवासँगै क्यानमाथिको आइसिसीको सबै प्रतिबन्ध हटेको छ ।








प्रतिक्रिया राख्नुहोस्