सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभामा आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम माथिको छलफल जारी छ ।
राष्ट्रिय सभाको हिजोको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “ राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९/०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव पेश गरे सँगै छलफल सुरु भएको थियो ।
सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम माथि हिजो सासंदहरुले बोल्ने क्रम नसकिएकाले आज फेरी छलफलले निरन्तरता पाएको छ ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्री शेर बहादुर देउवाले जवाफ दिनुहुने कार्यतालिका समेत रहेको छ ।
त्यस्तै आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आ.व. २०७९/०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम माथि पेश भएका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यक्रम पनि रहेको छ ।
हिजोको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि डा. विमला राई पौड्याल, शेखर कुमार सिंह र भगवती न्यौपाने सहित ३ जना सांसद्हरुले संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।
त्यस्तै आजै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले आ.व. २०७९/०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री जनार्दन शर्मा ले “आ.व. २०७८/०७९ को आर्थिक सर्वेक्षण” सभा समक्ष पेश गर्ने कार्यक्रम समेत रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्