जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुढीको अग्रता कायमै रहेको छ ।
जनकपुरधामको २५ वडा मध्ये २३ वडाको मतगणना सम्पन्न हुँदा स्वतन्त्रका साहको अग्रता कायमै रहेको हो ।
जनकपुरधामको २३ वडाको मतगणना सम्पन्न हुँदा मेयरका स्वतन्त्र उम्मेदवार साहले १२ हजार २ सय ८३ मतसहित अग्र स्थानमा रहनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवशङ्कर साह हिराले ९ हजार ३ सय ३ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ५ हजार १६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका लाल किशोर साहले ४ हजार ८ सय ६ मत र स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ हजार ७ सय ३४ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपमेयर पदमा गठबन्धन दलबाट नेपाली काँग्रेसका उम्मेदवार किशोरी साहले १४ हजार ८ सय ३३ मत प्राप्त गरी अग्र स्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रुणा देवी झाले १० हजार ३ सय २६ मत प्राप्त गर्नुभएको छ ।
वडा नंं १४ र १५ को पनि मतगणना जारी रहेकाले साँझ ६ बजेसम्ममा अन्तिम मत परिणाम आउने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्