चितवनमा हावाहुरीका कारण ३ जनाको मृत्यु, विद्युत् सेवा अवरुद्ध
चितवन । चितवनमा हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर मृत्यु भएको छ । वर्षासहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढलेको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले मृतकको पहिचान हुन नसेकेको बताउनुभयो ।

विद्युत्का पोल र रुख ढल्दा चितवनका विभिन्न सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, नारायणगढ, आपँटारी, क्यान्सर गेट, चितवन मेडिकल कलेज लगायतका स्थानमा रुख र विद्युत् पोल ढल्दा सडक अवरुद्ध बनेको हो ।
रूखहरू हटाएर सडक सञ्चालनको प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा प्रमुख धर्म अधिकारीले जानकारी दिनुभयो । अँध्यारो भएकाले क्षतिको विवरण सङ्कलन गर्न नसकिएको उहाँले बताउनुभयो । हावाहुरीले नारायणगढको पुलचोकमा ट्रकलाई समेत पल्टाएको थियो । अहिले त्यस स्थानमा अवरुद्ध भएको सडक सुचारु गरिएको छ ।
यस्तै चितवनको सिनर्जी एफ.एफ.को टावरमा समेत क्षति पुगेको छ । एफएफका स्टेसन म्यानेजर रामकान्त पौडेलका अनुसार, हावाहुरीले टावरको आधा भागबाट भाँचिएको छ ।
राप्तीमा घरका छानाहरू हावाहुरीले उडाएको छ । साँझ आएको ठुलो हावाहुरीका कारण विद्युतका पोलहरू ढल्दा चितवनमा विद्युत् सेवा समेत अवरुद्ध भएको छ ।
भरतपुर फिडरबाट सञ्चालन हुने सबै क्षेत्रमा विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३० देखि ३५ वटा विद्युतका पोलहरू भाँचिएका छन् । शनिवार अपराह्नसम्म विद्युत् अवरुद्ध हुने पौडेलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्