तपाईँ सुन्दै हुनुहुन्छः

झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

भद्रपुर, झापा । झापाको झापा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका जयनारायण साह निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का गौरीशङ्कर राजवंशीलाई २ हजार ६३३ मतान्तरले पराजित गर्नुभएको हो । साहले ६ हजार ९९८ मत ल्याउँदा राजवंशीले ४ हजार ३६५ मत ल्याउनुभएको छ । साहको यो दोस्रो कार्यकाल हो ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा काङ्ग्रेसकै अन्जुदेवी थपलिया निर्वाचित हुनुभएको छ । उहाँले एमालेकी देवीमाया अधिकारीलाई एक हजार ४९७ मतान्तरले पराजित गर्नुभएको हो । थपलियाले ५ हजार ८६८ मत ल्याउँदा अधिकारीले ४ हजार ३७१ मत ल्याउनुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पद एमालेले जितेको थियो ।

सो गाउँपालिकामा काँग्रेसले वडा नम्बर १, २, ४, ६ र ७ मा वडाध्यक्ष जितेको छ । वडा १ मा राजकुमार यादव, २ मा हिमालकुमार चम्लागाई, ४ मा महमद ताहिर, ६ मा नविनकिशोर थापा र ७ मा शखिचन्द्र ठाकुर निर्वाचित हुनुभएको छ । वडा नं ३ मा भूइँकटहर चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार सुभाषलाल गणेश र ५ मा भूइँकटहरकै स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद राजवंशी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button