माछापुच्छ्रेमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र
गण्डकी। स्थानीय तह सदस्य निर्वाचनमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
गाउँपालिका नवनिर्वाचित अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारीसहित वडाध्यक्ष तथा सदस्यलाई निर्वाचन अधिकृत नवराज दङ्गालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । गाउँपालिकाको अन्तिम मत परिणामअनुसार काँग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार विक्रम गुरुङले छ हजार ६१७ मत ल्याउनुभएको थियो ।
त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका सीता अधिकारीले छ हजार ३७६ मत प्राप्त गरी विजयी हुँदा एमालेका सीता तिवारीले पाँच हजार ९५१ मत प्राप्त गर्नुभएको थियो । नौ वडा रहेको गाउँपालिकामा नेपाली काँग्रेसले वडा नं १, २, ३, ४, ५, ८ र ९ मा जित हासिल गरेको छ । यसैगरी नेकपा(माओवादी केन्द्र) ले वडा नं ७ र नेकपा (एमालेले) वडा नं ६ मा विजयी भएको छ ।
गाउँपालिकाको वडा नं १ मा काँग्रेसका इन्द्रबहादुर गुरुङ, वडा नं २ मा गणेश आचार्य, वडा नं ३ मा हरिश्चन्द्र लम्साल, वडा नं ४ मा मधुसुदन अधिकारी, वडा नं ५ मा नारदप्रसाद पौडेल, वडा नं ६ मा एमालेका टेकनाथ गौतम, वडा नं ७ मा माओवादी(केन्द्र)का वैकुण्ठ भण्डारी, वडा नं ८ मा काँग्रेसका राम गुरुङ र वडा नं ९ मा हरिबहादुर क्षेत्री विजयी हुनुभएको छ ।
यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित आठ वडा नेकपा एमाले र एक वडा नेपाली काँग्रेसले जितेको थियो ।








प्रतिक्रिया राख्नुहोस्